×
Sign Up Support

Member Login

Forgot password?
जीवनशैली

जिम्मेवार अभिभावकत्व: बालबालिकाको सुन्दर भविष्यको आधार

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 3 YEARS AGO 3107 views
Lifestyle Photo By Josh Willink From Pexels

प्रकृतिद्धारा जिवित प्राणीहरुमा दिएको सबैभन्दा ठुलो जिम्मेवारी अभिभावकत्व हो । यसैलाई सहज बनाउन प्रकृतिले सबै कलिला र कोपिलाहरुलाई सुन्दर बनाएको हुन्छ । शैशवकालमा हरेक प्राणीहरु सुन्दर एवं प्यारा हुन्छन् । कुखुराका चल्ला, बाख्राका पाठा पाठी, गाईका बाच्छा बाच्छी, आदि इत्यादी सबै । सायद हेर्दै असिम वात्सल्य तथा अभिभावकत्व प्राप्त गरुन भनेर प्रकृतिले यि शैशवहरुलाई प्यारा बनाएको हुनुपर्छ । यो नियम सर्वश्रेष्ठ र विवेकशिल प्राणी मानवमा पनि लागुहुन्छ । हामी पनि हाम्रा बच्चाहरुलाई निकै माया गर्छौं । कल्पनामा समेत हामी हाम्रा कलिला बच्चाहरुलाई असिमित माया गर्छौं । मुटु नै चुंडेर दिउ जस्तो । तर .... माफ गर्नुहोला तपाईहरुको अभिभावकत्वको असिमित प्रेममा प्रश्न गर्न खोजेका होइन । बच्चा हुर्काउन कत्ति गाह्रो हुन्छ । किन गाह्रो भएको होला ? यसरी मुटुनै चुंडाए पनि दिन तयार अभिभावकहरुले यत्ति गाह्रो गरि र्हुकाएका ति त्यस्ता प्यारा बच्चाहरुले हुर्कियर परिपक्व हुन नपाउदै संसारभरका यत्ति धेरै दुख किन पाएका होलान् ।


मेरो नियमित कार्यका लागि घरबाट कार्यलय आउने बाटोमा मैले केहि दिन अघि र आज पनि एक किशोरलाई देखें । ति एक किशोर राम्रै उचाई भएका, देख्दा पनि राम्रै थिए । उनको एउटा हातमा अपाङ्गताको केहि समस्या जस्तो देखिन्थ्यो र एकातर्फ त्यसै भुण्डिएको थियो । उनले लगाएका लुगाहरु त्यति ध्यान दिईएका थिएनन् । उनको अर्को हातलाई मुखमा जोडदै उनी प्लाष्टिकको पोकालाई आफ्नो मुखले जोड जोडले फुक्दै र पोका भित्रको हावा तान्दै धेरै मानिसहरु भएको भिडभाडका बिचबाटै हिडिरहेका थिए । उनी डेनड्राइट सुंघी रहेका थिए । डेनड्राइट सुंघ्नु एउटा असाध्धै घातक कुलत हो । त्यत्रोे भिंडमा पनि सायद उनले कसैलाई देखेनन किनकी त्यो भिंडले पनि उनलाई देख्दैेन, देख्न सक्दैन वा देख्न हुंदैन भन्ने सोच राख्छ । मैले केहि दिन अघि गोर्कण मन्दिर नजिकै उनलाई यस्तै परिवेशमा देखेको थिए र आज गोकर्ण मन्दिर बाट माईति नेपाल तर्फ माईति नेपाल नपुग्दैको पुल निर देखें उस्तै परिवेशमा । यि किशोर किन यस्ता भएका होलान् ? के उनका अभिभावकले उनको यस्तो अवस्था परिकल्पना गरेका थिए होला ? अहिले उनका अभिभावक कंहा होलान ? त्यो बाटोमा हिंडेका हामी यति धेरै मानिसहरु किन उनलाई देख्न सक्दैनौं वा कुनै मानिसको यस्तो अवस्था प्रति कसरी केहि महसुस गर्दैनौं ?

 

प्लेटो लेख्छन, "Let Parents bequeath to their children not riches, but the spirit of reverence". अर्थात अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई धनसंपत्ति मात्र नछोडुन, अरुको पिडा र संवेदना महसुस गर्न सक्ने एउटा सुन्दर मन पनि दिएर जाउन । सायद ति किशोरका अभिभावकले उनीलाई धनसंपत्ति दिन सकेनन तर धेरै पिडा महसुस गर्ने मनमात्र दिएर गए र समाज उनी आफुभन्दा धेरै निर्दयी पाएपछि उनले त्यो नशाको बाटो समाते र हामी सामान्य मानिसका अभिभावकहरुले हामीलाई केहि धनसंपत्ति त छोडे तर अरुको पिडा महसुस गर्न सक्ने सुन्दर मन दिन सकेनन् । प्लेटो एक महान चिन्तक हुन् । उनी जान्दथे, सुन्दर मनहरुको अभावमा यो संसार निर्दयी र स्वार्थी बन्नेछ जंहा भावना, संवदेना र अरुको पिडा महसुस गर्नेहरुलाई कमजोर भनिनेछ । हामी यि सबै महसुस गर्दछौं । तर जीन्दगीको दौडमा हामी यि भावनात्मक पक्षहरुलाई विर्सदै छौं । संसारको स्वरुप हाम्रै सोच र हाम्रै अभिभावकत्वमा निर्भर गर्दछ । के तपाई चहानुहुन्छ, तपाईका बालबालिकाहरु हामी जस्तै जीन्दगीको दौडका कारण भावना र संवेदना हिन बनुन भनेर ? के यि कलिला, यति खुशी र हंसिला अनुहारहरु जीवनको भोगाई संगै कठोर बन्दै जाउन ? हामी आफैं पनि फेरि बालबालिका जस्तै हुन पाउने कल्पनाहरुमा हराईरहेका हुन्छौ, किन ? हामी ति संपुर्ण खुशी, संवेदनाहरु महसुस गर्न चहान्छौं । तपाई यदि आफ्ना बालबालिकाहरुलाई राम्रो जीवन दिन चहानुहुन्छ भने राम्रो अभिभावक बन्न केहि जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्नुपर्दछ । राम्रो अभिभावक बन्नु भनेको तपाईका आफ्ना बालबालिकाका लागि तपाईले राम्रो संसार बनाउनु हो ।

 

यो पनि पढ्नुहोस् :

सामाजिक विकासको अवधारणा: सफल, सभ्य र असल राष्ट्र निर्माणको आधार


राम्रो र जिम्मेवार अभिभावक बनेर आफ्ना बालबालिकाहरुको भविष्य सुनिश्चत गर्न सबैभन्दा पहिला त अभिभावक बन्न तयार हुनु पर्दछ । संसारमा कसैलाई जन्म दिएर दुख दिनु भन्दा जन्म दिनु अघिनै आवश्यक तयारी गर्नु महत्वपुर्ण हुन्छ । त्यसका लागि विवाह र सन्तान उत्पादन भनेको एउटा अत्यन्तै महत्वपुर्ण जिम्मेवारी हो भनेर बुझ्न आवश्यक छ । हामी मध्ये कोही पनि यो पक्कै चहादैनौ कि जन्म लिएर हाम्रा सन्तानहरुले दुख पाउन् । आर्थिक, सामाजिक र मानसिक रुपमा सबल भएपछि मात्र सन्तानको रहर गर्नुपर्दछ । तपाईका आफ्ना जिवन पनि महत्वपुर्ण हुन्छन् । आफुले बहन गर्न नसक्ने जिम्मेवारी लिंदा तपाईको आफ्नो जिवन पनि अनावश्यक बोझ र पिडामा दब्न सक्छ । आफ्नै जिवन तनावपुर्ण हुंदा कुनै अर्को जिवन वा भनौं समाजका विषयमा सोच्न सकिदैन । तसर्थ आफु तथा आफ्ना सन्तानहरुको सुन्दर संसारका लागि विवाह तथा अभिभावक बन्ने जस्तो अत्यन्तै महत्वपुर्ण विषयमा धेरै चिन्तन र तयारी गर्न आवश्यक छ । तयरी पश्चात मात्र अभिभावक बन्नु पर्दछ । जिम्मेवार अभिभावक बन्ने तयारी गरिसकेपछि आफ्ना बालबालिकाहरुलाई अनुशासित, सभ्य र असल नागरिक बनाउन अभिभावकहरुले ध्यान दिनुपर्ने कुराहरु :



सबैभन्दा पहिला जिम्मेवार अभिभावक बन्न निन्मलिखत गुणहरु आवश्यक पर्दछन् : 

 

विवाहका लागि उपयुक्त समयको चयन र त्यसैगरी पुर्ण तयारीका साथ मात्र आफ्नो परिवारको शुरुवातका लागि सोच्नुपर्दछ । तयारीमा सामाजीक तथा आर्थिक सक्षमता लगायतका विषयहरु पर्दछन् ।


जिम्मेवार अभिभावक बन्न श्रीमान श्रीमती दुवैले उपयुक्त समयको छनोट गर्नुपर्दछ ।
सन्तानहरु बिच उपयुक्त जन्मान्तर सुनिश्चित गर्नुपर्दछ । सन्तान भनेका आर्थिक जीम्मेवारी पनि हुन् तसर्थ जन्म अघि आफ्नो आर्थिक अवस्था सुनिश्ति गर्नुपर्दछ ।

 

 

त्यसैगरी जिम्मेवार अभिभावकका निम्नलिखित सिद्धान्तहरु महत्वपुर्ण हुने गर्दछन् :

 

तपाईका आचरण र व्यवहार निकै महत्वपुर्ण हुने गर्दछन् :

बलबालिकाहरुले आफ्ना अभिभावकरुलाई निकै ध्यानले नियालीरहेका हुन्छन्, बालबालिकाहरुले आफ्ना अभिभावकहरुकै नक्कल गर्ने हुंदा तपाई आफ्ना बालबालिकाहरुलाई जस्तो देख्न चहानुहुन्छ त्यस्तै व्यवहार गर्नुहोस् ।


बालबालिकाहरुलाई माया गर्नुपर्छ तर धेरै पुल्पुल्याउनु हुंदैन :


हामी सबै आफ्ना बालबालिकाहरुलाई असाध्यै धेरै माया गर्छौ तर मायाले उनीहरुलाई विगार्नु हुंदैन । गलत गरेमा बुझाएर सम्झाउनु पर्छ तर गाली गर्ने पिट्ने चांहि पटक्कै गर्नु हुंदैन ।


आफ्ना बालबालिकाहरुको क्रियाकलापमा भाग लिनुपर्दछ :


हेरचाह गर्ने, खाना खुवाउने तथा माया गर्ने मात्र पर्याप्त हुंदैन, उनीहरुको क्रियाकलापमा उनीहरु जस्तै भई भाग लिंदा उनीहरुको मानसिक तथा शारिरीक विकासमा निकै सकारात्मक प्रभाव पर्दछ । जस्तोसुकै व्यस्त समयमा दिनको केहि समय उनीहरुसंग खेल्नु एकदमै जरुरी हुन्छ । खेल्दा सम्पुर्ण ध्यान उनीहरुमै सिमित हुनुपर्दछ ।


अभिभावकत्वलाई आफ्ना बालबालिकाको उमेर अनुसार परिवर्तन गर्दै लानुपर्दछ :


बालबालिकामा उमेर अनुसार हुने शारिरीक तथा मानसिक विकास अनुसार अभिभावकहरुले आफ्नो व्यवहरामा परिवर्तन गर्दै लानुपर्दछ ।


नियमहरुको स्थापना र अवलम्बन गराइनुपर्दछ:


आफ्ना बालबालिकाहरुको व्यवहारहरुलाई सकारात्मक अनुगमन तथा नियन्त्रण गरिरहनुपर्दछ । गल्तिहरु गरेमा कार्वाही तथा सजायको व्यवस्था गर्नुपर्दछ जसका कारण उनीहरु आफ्ना गल्तीहरु महसुस गरुन् । कार्वाहीमा भौतिक दण्ड वा पिटाईलाई चांिह कुनै पनि हालतमा व्यवहारमा लागु गर्नु हुंदैन । उदाहरणका रुपमा पुरै घर सरसफाई गराउने वा घरमा खाना पकाएकोे सबै भांडाहरु सफा गर्न लगाउने आदि जस्ता सजायहरु दिनुपर्दछ । यस्ता नियमहरु अभिभावकहरुले बनाउने र त्यसको अवलम्बन गराउने गर्नु पर्दछ र बच्चाहरुलाई विश्वास दिलाउनु पर्दछ कि नियम सबैलाई (अभिभावकलाई पनि) समान रुपमा लागु हुन्छ ।


बालबालिकाहरुको स्वावलम्बनलाई बढावा दिनुपर्दछ:


जिम्मेवार अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई आत्मनियन्त्रण, अनुशासनको महत्व बुझाउने तथा त्यसलाई व्यवहारमा लागु गर्न प्रोत्साहन गनुपर्दछ । बालबालिकारुलाई आफ्ना निर्णय तथा कदमहरुका लागि जिम्मेवार बन्न सिकाउनुपर्दछ । उनीहरुका हरेक छनोटलाई नियन्त्रण गर्ने र उनीहरुलाई किचकिच गरिरहने गर्नु हुंदैन, यसले उनीहरुको मनोबलमा नकारात्मक असर गर्दछ, जसले बालबालिकाहरुको आत्मविश्वासमा कमि आउंछ ।


यसैगरी, अभिभवाकहरुले बनाउने नियमहरुमा दिनदिनै परिवर्तन गर्नुहुदैन, बनाइने नियमहरु तर्कसंगत हुनुपर्दछ, बनाइएका नियमहरु आफ्ना बालबालिकाहरुलाई सम्झाएर बुझाउनु पर्दछ । बालबालिकाहरु खेल्ने वा जिस्काउने चिज होइनन् । उनीहरुलाई पनि बराबरको सम्मान दिनुपर्दछ । उनीहरुलाई झपार्ने, गाली गर्ने कहिल्यै गर्नुहुंदैन ।

 

के तपाई लेख्न रुचाउनुहुन्छ ? आफ्ना रचनात्मक सोचहरु लेख्न Sign Up गर्नुहोस् । सकारात्म सोचहरु नै समाज परिवर्तनका संवाहक हुन् ।

 


जिम्मेवार अभिभावकहरु संसारका सिर्जनाकारहरु हुन् । बालबालिकाहरु भविष्यका कर्णधार त्यत्तिकै बन्न सक्दैनन् । जिम्मेवार अभिभावकत्वले मात्र आजका बालबालिकाहरुलाई भविष्यका कर्णधार बन्न मदत गर्न सक्दछ् । हामी मध्ये धेरैलाई लाग्न सक्दछ, अभिभावकत्वका सबै नियम पालना गर्न समय कसरी उपलब्ध होला र ? समाजको सबैभन्दा ठुला गहना यि बालबालिकाहरु हुन् । बालबालिकाहरुलाई फुर्सदको समय मात्र दिनुपर्छ भन्ने सोच त्याग्नु पर्दछ । बालबालिकाहरु हुर्काउनु एउटा महत्वपुर्ण जिम्मेवारी हो यसलाई निकै गम्मभीरताका साथ लिनुपर्दछ । बालविवाह, कम उमेरमा विवाह, जस्ता विभिन्न समस्याका कारणनै हाम्रा अधिकतम अभिभावकहरु आफ्नो अभिभावक हुनुको सबैभन्दा महत्वपुर्ण जिम्मेवारीबाट विमुख हुन बाध्य छन् । हामी विभिन्न पदहरुका लागि विभिन्न योग्ताका कुराहरु गरेर थाक्दैनौ तर समाजको सबैभन्दा महत्वपुर्ण जिम्मेवारी, जिम्मेवार अभिभावकत्वका लागि आवश्यक गुणहरुका बारेमा भने अनभिज्ञ जस्ता छौं । सायद यसै कारण हाम्रो समाज पिछडिएको छ । समाज परिवर्तनको आधारशिला नै जिम्मेवार अभिभावकत्व हो ।