×
Tuesday April 23, 2024
Sign Up Support

Member Login

Forgot password?
Perception

सामाजिक विकासको अवधारणा: सफल, सभ्य र असल राष्ट्र निर्माणको आधार

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 3 YEARS AGO 2361 views
Perception Ankur Chhipi Mourya

हामी आफ्नो दैनिक जीवनको कति भाग विकास सम्बन्धी गुनासाहरु अथवा सुखी जीवनका अपेक्षाहरुको चिन्तनमा विताउछौं ? तर के चिन्तन मात्रले अपेक्षित सुखी जीवन र खोजेको सामाजिक विकास हासिल होला ? हाम्रा सोच अनुसारनै हाम्रा कर्महरु निर्देशित हुन्छन् र हाम्रा कर्म अनुसारकै जीवनका भोगाईहरु हुन्छन् । जताततै समस्यै समस्या छन्, यस्तो माहोलमा सुखी जीवन र सामाजिक विकास जस्ता विषयमा सकारात्मक चिन्तन गर्न कसरी सकिन्छ ? हो, यहा बुझ्नु पर्ने कुरा के हो भने हाम्रा चिन्तनहरु प्रगती उन्मुख नभएका कारण हाम्रा वरपर समस्यै समस्या भएका हुन् । तिनै समस्यै समस्याहरुका कारण हाम्रा सामाजिक, आर्थिक र राजनीतिक चरित्र एवं अवस्था निराशाजनक छन् ।


सामाजिक विकासको संभावना हरेक व्यक्तिले प्राप्त गर्ने प्रगतिका अवसरहरुमा नीहित हुन्छ । कुनै पनि राष्ट्रको अन्तिम लक्ष्य भनेकै यसका नागरिकहरुको उन्नत जीवनशैली हुनुपर्दछ । राज्यले उपलब्ध गराउने स्रोत र साधनले मात्र नागरिकहरुको अपेक्षित उन्नत जीवनशैली हासिल हुदैन यसका लागि आवश्यक नेतृत्वदायी भुमिका पनि निर्वाह गर्नु पर्दछ । प्रगती उन्मुख नागरिकहरुको अनुपातले नै उक्त राष्ट्रको सामाजिक, आर्थिक र राजनीतिक चरित्र एवं अवस्था निर्धारण गरेको हुन्छ । सामाजिक विकासका लागि सर्वप्रथम राज्यले आफ्ना नागरिकहरुमाथि लगानी गर्नुपर्छ । यसको अर्थ पैसा बाड्ने चाहि पक्कै होइन है । राज्यले समाजमा जात धर्म, भाषा, रहनसहन, लिङ्ग लगायतका आधारमा यथावत विभेदहरुको अन्त्य गर्नु पर्दछ जसले समाजका हरेक तप्कामा रहेका नागरिकहरु आत्मविश्वास र आत्मसम्मानका साथ आफ्ना सपना वा आकांक्षा पुरा गर्न अगाडी बढ्न हौसला मिल्दछ । 


हरेक नागरिकसंग प्रगती गर्ने, आफ्ना सीप विकास गर्ने र आफ्ना परिवार र समुदायलाई सार्थक रुपमा योगदान गर्न सक्ने अवसर सुनिश्चित हुनुपर्दछ । यदि उनीहरु स्वस्थ, शुशिक्षित र तालिम प्राप्त भए भने उनीहरु कुनै पनि कार्यसम्पादनका लागि राम्रा जनशक्ति बन्दछन् । यसले उनीहरुलाई राम्रो जीवनयापनका लागि आवश्यक आर्थिक उन्नती गर्न सहज बनाउछ र सफलता तर्फ अग्रसर गराउछ र उनीहरुको परिवारको प्रगती सुनिश्चित गर्न टेवा मिल्छ । यसरी परिवार र समुदाय हुंदै संपुर्ण राष्ट्र विकास र प्रगती तर्फ अग्रसर हुन सक्दछ ।


त्यसैगरी बालबालिकाको उचित तथा नैतिक शिक्षा एकदमै महत्वपुर्ण हुन्छ । बालबालिकाहरुको प्रथम विधालय उनीहरुको आफ्नै घर र समाज हो । बालबालिकाहरुको चरित्र निर्माण उनीहरुको उमेरको ३ वर्ष भित्र नै भइसेको हुन्छ । बालबालिकाहरु अवोध हुन्छन तर उनीहरुले आफ्ना वरपरको वस्तुस्थितीलाई महसुस गरिरहेका हुन्छन र वरपरको वस्तुस्थितीको प्रत्यक्ष असर उनीहरुको मानसिक विकासमा परेको हुन्छ ।

 

(फोटो : अंकुर छिपी मौर्य)

 

बलबालिकाहरुको उचित लालन पालन, उनीहरुले परिवार, समाज तथा विधालयबाट प्राप्त गर्ने तालिम तथा नैतिक शिक्षा उनीहरुको सम्पुर्ण जीवनको मार्गदर्शनका लागि निकै महत्वपुर्ण हुने गर्दछ । बाल्यवस्थाका यस्तै अनुभवहरु उनीहरुलाई असल तथा जिम्मेवार नागरिक बन्न र उनीहरुको सफलता सुनिश्चित गर्न सहयोगि हुन्छन् । हाम्रो समाजमा व्याप्त एक कथन, “गर्नेले जसरी नि गर्छ, पढ्ने ले जसरी नि पढ्छ”, अव यसको औचित्य समाप्त हुनु पर्दछ, समाज अपवाद स्वरुप उत्पन्न भएका एक वा दुई सफल र नैतिक व्यक्तिहरुका कारण विकास तर्फ अग्रसर हुन सक्दैन । समाजमा जिम्मेवार र नैतिकवान नागरिकहरुको बाहुल्यता नभई अपेक्षित विकसित तथा सभ्य समाजको निर्माण गर्न सकिदैन ।


त्यसैगरि विधालय नजाने अति साना उमेरका बालबालिकाहरुकालागि स्याहार केन्द्रहरु पनि निकै महत्वपुर्ण हुन्छन् । जब अभिभावकहरु आफ्ना बालबालिकाहरुले उचित स्याहार प्राप्त गर्ने विषयमा निश्चिन्त हुन्छन् तब उनीहरु आफ्नो कार्यसम्पादनमा थप प्रभावकारी बन्न सक्छन् । कर्मचारीहरुको कार्यकुशलतामा आउने प्रभावकारीताले व्यवसायहरुको प्रगतीमा थप टेवा पुग्दछ । जव समाजका व्यवसायहरु सबल हुंदै जान्छन तब उक्त समाजको आर्थिक सबलता सुदृढ हुंदै जान्छ । राष्ट्रको आर्थिक उन्नती समाजमा आउने यस्तै सकारात्म परिवर्तनहरुमा नीहित हुन्छ । बालबालिकारुको उचित स्याहार सुसार, लालन पालन र शिक्षामा आज गरिने लगानीले समाज तथा राष्ट्रको आर्थिक विकासमा दुरगामी प्रभाव पारेको हुन्छ ।

 

यो पनि पढनुहोस :

समस्याको चाङ र समाधानको उपाय


यसका साथै सुरक्षित, स्वस्थ र आधारभुत सुविधाहरु सहितको आवास नागरिकहरुको आत्मर्निभरता र सन्तुष्टिका लागि अत्यावश्यक छ । जब समाजका प्रत्येक परिवार आफ्ना बालबालिकाहरुको उचित लालन पालन तथा वृद्ध अभिभावकरुका लागि सुरक्षित तथा स्वस्थ आवासको जोहो गर्न सक्छन तब मात्र समाजका प्रत्येक सदस्यले समाज विकासका लागि उपयुक्त भुमिका निर्वाह गर्न सक्छन् । हरेक समाजमा उपलब्ध फरक फरक किसिमका श्रोत संसाधन अनुसार आवास निर्माणका विकल्पहरु पनि प्रशस्त हुने गर्दछन् । भुमिको उपलब्धता अनुसार भुकम्प, बाढि, पहिरो, हुरी जस्ता दैविप्रकोपबाट बच्न न्युन लागतमा पनि राम्रा आवासको निर्माण गर्न सकिने कुराका विषयमा व्यापक जनचेतनाका लागि सामाजिक तवरमै प्रयासहरु गरिनु पर्दछ । आवास आफ्ना आवश्यक्ता र उपलब्ध श्रोत साधन अनुसार सुखी जीवनयापनका लागि हुनुपर्दछ न कि अन्य कुनै देखावटीका लागि ।


गरिबी निवारणका लागि सामाजिक विकासकै अवधारणलाई प्रोत्साहन गर्नुपर्दछ । नागरिकको दिगो प्रगतिका लागि गरिने लगानीले नै समाजलाई विकास तर्फ अग्रसर गराउन सकिन्छ । नागरिकहरुमाथि गरिने यस किसिमको लगानीले सामाजिक र आर्थिक विकासलाई सुनिश्चित गरि एउटा सफल, सभ्य र असल राष्ट्र निर्माणको आधार खडा गर्दछ ।

 

यो पनि पढनुहोस :

कुनै पनि राष्ट्रको महानता र त्यसको नैतिक विकास त्यो राष्ट्रमा जनावरलाई गरिने व्यवहारबाट आंकलन गर्न सकिन्छ