"म" वा "हामी"
“म” को स्वाभिमान, परिचय वा संपुर्ण अस्तित्व “हामी” विना असंभव छ । “म” ले जबसम्म “हामी” मा आफुलाई पांउदैन तबसम्म उसको लक्ष्य, खोज र अस्तित्व सधै विचलित रहिरहन्छ ।
प्रधानमन्त्री, राष्ट्रपती, चिकित्सक, चालक, सहचालक यि सबै फरक फरक “म” हुन् तर जबसम्म यि प्रत्येक र अरु यस्तै यस्तै अन्य धेरै “म” ले हामीमा आफुलाई पाउंदैन तबसम्म उ विचलित हुन्छ र जुन दिन उसले हामीमा आफुलाई पनि देख्न सक्छ तब उ भलाद्मी बन्छ । शान्त बन्छ र सन्तुष्ट बन्न सक्छ, उसको जीवन सफलता, सम्पन्नता र सुख तर्फ बढ्छ ।
निस्वार्थ “म” को अस्तित्व संसारमा कुनै पनि समाजमा पाउन सकिदैन र त्यसको अपेक्षा पनि गर्नु हुंदैन तर “म” ले आफ्नो नितान्त व्यक्तिगत स्वार्थ पुरा गर्दा त्यो स्वार्थ पुर्तिले अर्को भिन्न “म” को स्वार्थलाई नकारात्मक असर नगर्नु भनेकोनै “म” ले “हामी” मा आफुलाई पाएको हो । यस्तो स्वार्थ नैतिक स्वार्थ हो जुन समाजलाई प्रगतीशिल बनाउन आवश्यक छ ।
समाजमा यदि “हामी” अनुभवको कमी हुंदै गएमा हरेक “म” अहंकारी बन्छन् र उक्त समाज सभ्यता र सहजताबाट पर भाग्दै जान्छ । त्यस्तो समाज जंगली बन्छ ।
सार्वजनिक यातायात भित्र सहचालकको मिलेर बस्ने आग्रहलाई कसरी हेरिन्छ ? सहचाकलाई एउटा अर्कै “म” को रुपमा हेर्दा उसलाई निकै मुर्ख र खराब देख्न सकिन्छ, सारा यातायात व्यवस्थाको दोषी उसैलाई पाउन सकिन्छ तर यदि ति सहचालकलाई अर्कै “म” नभई “हामी” भित्रकै एउटा “म” को रुपमा अर्थात उसको ठाउंमा आफुलाई राखेर हेर्दा कसरी सोचिन्छ होला । एक छिन सोचौ. । सायद उसले जे गर्दैछ हामी पनि उसको ठाउंमा भएको भए उसले जे गर्दैछ त्यही नै गर्दथ्यौं । यदि यसरी सोच्यौं भने हामीमा विचलन आउदैन । हामी सहजता र सभ्यता तर्फ अग्रसर हुनेछौं ।
सेवा वा वस्तुको सिमित उपलब्धता भएको अवस्थामा त्यसको वितरणमा उपभोक्ताहरु लाईनमा बसेर आफ्नो पालोमा मात्र उक्त वस्तु अथवा सेवा प्राप्त गर्नु पर्ने हुन्छ । त्यस्तो अवस्थामा हामी कसरी सोच्छौं ? लाईन किन बस्नु प¥यो होला ? यस्तो हतारको बेलामा ? तर एकछिन सोच्नुस त, त्यो लाईनमा कति व्यक्तिहरु छन् ? ति सबै तपाई हामी जस्तै हैनन् र ? यदि यस्तो अवस्थामा “म” को मात्र स्वार्थ हावी भयो भने के होला ? त्यहांको स्थिती तनाव पुर्ण र अराजक बन्न सक्छ । तर त्यंहा सबै “म” ले “हामी” मा आफुलाई पाए भने ति प्रत्येक “म” जसले आफुलाई “हामी” मा देख्न सक्छन्, ति सबै शान्त र भलाद्मी भएर निश्चन्त बन्न सक्छन् ।
प्रत्येक “म” आफ्ना निजी अवस्था र स्रोत उपलब्धताका आधारमा फरक फरक अवस्थामा हुन्छन् । मात्र अवस्था फरक हो अन्यथा सबै “म” समान छन् । प्रहरी, सेना, व्यवसायी, कर्मचारी यि सबै भिन्न भिन्न अवस्थामा भएका “म” हरु हुन् । धेरै अहंवादी सोचले यि सबै “म” हरुमा ठुलो दरार पैदा गरेको जस्तो भएको छ हाम्रो समाजमा । तर सभ्यता संग संगै यि दरारहरु घट्दै जानेछन् ।
गत सोमबार शिवरात्री पर्वमा म पशुपतिनाथ मन्दिरमा बेलुकाको आरती आफ्नो मोबाईमा कैद गर्दै थिए । म उभिएर खिचिरहेको ठाउंमा एकजना महिलाले एकजना बहिनीलाई बस्ने सल्लाह दिनु भयो । म केहि बेर पछि बसेर खिच्न खोज्दैथिए, ति दिदीले अगाडीको बहिनीलाई इंगित गर्दै, “भाई छोइएला” भन्नुभयो । मैले सोधे, “छोइएको छ ?” । उंहाले आफ्नो अप्ठेरोलाई धुर्त मुस्कानमा लुकाउदै नछोएको बताउनु भयो । मलाई पनि केहि अप्ठेरो भएको जस्तो महसुस भयो र मैले ति बहिनीलाई अलिक पर सर्न अनुरोध गर्दा फेरि त्यो दिदिले बोल्नुभयो, “किन सर्ने उ, उसलाई हेर्नु पर्दैन” । म यस्तो अप्ठेरो अवस्थामा खासै पर्दिन तर मलाई सारै नराम्रो लाग्यो । म धेरै बेर देखि उभिएर खिचेकोले थाकेर बस्न खोजेको थिए तर बसिन म आफै उभिए, केहि भनिन । माथि मैले धुर्त भन्ने शब्द बडो सावधानीका साथ प्रयोग गरेको हो । ति दिदी सांच्चै अप्ठेरै हनुहन्थ्यो । उहांसंग वादविवाद गर्ने थुप्रै कारणहरु हुन सक्थे तर मैले गरिन । किनकी उहां एउटा फरक “म” त हो तर “हामी” मध्येकै एक हो । मन्दिर जस्तो ठाउंमा पनि उहांको सोच किन त्यस्तो संकिर्ण । सायद उहांको सोच त्यस्तो हुनुमा हाम्रो पनि त दोष होला । महिलाहरु माथि भिंडमा पुरुषहरुबाट भएका नराम्रो व्यवहार, बलात्कार र महिला हिंसाका असंख्य घट्ना, महिला विरुद्ध घरभित्र हुने सामान्य मानिएका असंख्य घरेलु हिंसाका घटना, लगायतका कारणहरु हुन ति दिदीको व्यवहार त्यस्तो बनाउने ।
निजी जिवनका प्रत्येक व्यवहार र सोचले हामी बांचेको समाज र परिवेशलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ । यो बुझ्न अत्यावश्यक छ, अब पनि बुझेनौ भने धेरै धेरै पछाडी पर्नेछ हाम्रो समाज, विकास र सभ्यता बाट ।
कुनै पनि विषय वा प्रसंगको निचोडमा पुग्नु अघि प्रत्येक “म” ले अहंकारी नभई आफुलाई “हामी” मध्येकै एक भाग मानेर सोच्न र व्यवहार गर्न आवश्यक छ ।