बौद्धिक पुँजी र त्यसको कदर
बौद्धिक पुँजी एक यस्तो सम्पति हो जुन व्यक्तिले आफ्नो अध्ययन, प्रशिक्षण, जिज्ञासा, व्यक्तिगत इच्छा र भोगाइ बाट आर्जेको हुन्छ । जसलाई कुनै पनि संस्था, व्यवसाय, ब्यापार तथा सिंगो अर्थतन्त्र ले नै आफ्नो लाभ र उन्नतिको लागि प्रयोग गर्न सक्छन । हामीले पढ्दै आएको कुरा हो, ज्ञान बाँड्यो भने बढ्छ । तर आधुनिक समाजको यथार्थ यो पनि हो कि ज्ञान ले उचित अवसर र बजार पायो भने त्यसले ज्ञान र ज्ञानी दुवैको बहुआयामिक विकास हुन्छ । कुनै पनि समाज र राज्यको विकासको गतिलाई त्यस क्षेत्रमा कुन दरले बौद्धिक पुँजी को माग हुन्छ र त्यसको पूर्ति हुन्छ भन्ने दरले पनि मापन गर्न सकिन्छ ।
“खोज तथा विकास” वा “रिसर्च एण्ड डेव्लप्मेण्ट” नै आफ्नो भावी आर्थिक विकासको जग हो भन्ने पाठ सिकेपछि जापान, चाइना, र जर्मनी जस्ता देशहरु यस तर्फ केन्द्रित भएका थिए । विशेषत दोश्रो विश्व युद्धपछि भोगेको विध्वंश पश्चात यी देशहरुलाई उकास्न बौद्धिक पुँजी ले नै मुख्य भूमिका निभाएको थियो । त्यस्तै, अमेरिका र बेलायत जस्ता बिकसित राष्ट्रहरुले पनि आफ्ना बौद्धिक पुँजी हरुको विकास र प्रबर्धनलाई सधै प्राथमिकता दिदै आएका छन् ।
बिसौ त्यसपछि एक्काइसौ शताब्दि को संसार झन् पछि झन् बुझ्नलाई जटिल हुदै आएको छ । मानवको सिर्जनशीलता र बौद्धिक क्षमतालाई यन्त्रहरुको द्रुतताको समिश्रणले आधुनीक विकासलाई तिब्र गति प्रदान गरिरहेको छ । त्यसैले भावी विश्वमा पनि त्यी राष्ट्रहरु नै शक्तिशाली रहिरहनेछन भन्ने यथार्थ नकार्न सकिन्न, जसले आफ्नो देशको बौद्धिक पुँजीलाइ सक्दो अवसर र हौसला प्रदान गर्दै अझ अन्य देशको बौद्धिकवर्गहरुलाई समेत आफुतर्फ आकर्षित गर्न सकेका छन् ।
विकसित र अविकसित राज्यहरुको बीचमा थुप्रै प्रवित्तिय र सैद्धान्तिक अन्तर र त्यस्ता अन्तर पैदा गर्ने कारकहरु हुन्छन । त्यस्तै कारकरु मध्ये एक हो “सृजनात्मक विनास को डर” वा “फियर अफ क्रियटिव डिस्ट्रक्सन” जसको अर्थ हो परम्परागत रुपमा पुर्बकाल देखि चल्दै आएका पद्दति र त्यसको आडमा राज गर्ने शासक वर्गहरुमा नयाँ सोच र शृजनाप्रति हुने भय । अविकसित सभ्यताका शासकहरुमा नयाँ बौद्धिक विकासले आफ्नो पुरानो जगलाई हल्लाइदिने हो कि भन्ने डर व्याप्त हुन्थ्यो । यसै प्रशंगमा एउटा रोचक इतिहासको घटनालाइ जोडौ । रोमका सम्राट टिबुरियस का सामु कुनै दिन एक वैज्ञानिक आफ्नो एउटा नफुट्ने शीशाको आविष्कार लिएर आए । निकै खुशी हुदै, पुरस्कार को आशमा उनले आफ्नो आविष्कार सरकार सामु प्रस्तुत गरे । तर त्यो देख्ने बित्तिकै टिबुरियसले वैज्ञानिक लाइ बन्धि बनाए र उनको हत्या गरिदिए । टिबुरियस आफ्नो राज्यमा कुनै नयाँ सोच र सृजना आयो भने जनता विकसित र जागरुक हुन सक्छन र आफ्नो बिरुद्ध उठ्न सक्छन भन्ने भय ले ग्रसित थिए । त्यसैले राज्य ले लिने हरेक नीति केवल जनताको फाइदाको लागि हुन्छ, या शासक हरुले आफ्नो नागरिकको हक हित का लागि आफ्नो शक्तिलाई उत्सर्ग गर्छन भन्ने सुत्र सबै राज्यमा नलाग्न सक्छ, विशेष गरि अविकसित र दिर्घकालिन रुपमा पिछडीएका सभ्यताहरुमा ।
गासबास र घरबार जोड्ने मजबुरीले होस् या समाजमा एक अर्काबीच आफ्नो सम्पन्नता देखाउने होड मा होस्, हामि कागजी पुँजी को पछाडी यसरि दौडियौ कि बौद्धिक पुँजी कतै छायामा पर्न गयो । यो नेपाल मात्र होइन अरु थुप्रै अविकसित देशको समस्या, वा भनौ, विवसता हो । पूँजीवादी सभ्यताको प्रादुर्भाव संगै कागजी पुँजी को बाहुल्यता बढ्नु कुनै नौलो विषय होइन । तर, हरेक विवेकशील मस्तिष्कमा खड्किने कुरा चाहि के हो भने, यो देशका केहि सामाजिक, राजनीतिक वर्ग र स्वयं सरकार ले क्षणिक रकमी पुँजीगत फाइदाको लागि बौद्धिक पुजीलाई नजरअन्दाज गर्दै आएका छन्, या भनौ उनीहरुलाई निरुत्साहित पार्ने वाताबरण सिर्जना गरेका छन, त्यसले दीर्घकालमा देशलाई अगाडी बढाउनु को साटो बौद्धिक विपन्नताको अन्धकारमा धकेल्ने छ ।
देश चलाउन अपरिहार्य रकमको आवश्यकतालाई नकार्न सकिदैन । त्यसैले यदि कुनै श्रमजीवी वर्गले आफ्नो श्रमले आन्तरिक राजस्व एबं बैदेशिक मुद्रा आयात मा टेवा पुराउन सक्छन भने त्यो नै व्यक्ति ले राष्ट्रको लागि गर्न सक्ने ठुलो सेवा हो । तर, युवाहरुले निकै दुखले आर्जेको ज्ञान, बुद्धि, विवेक र सृजनशीलतालाई मष्तिस्कमै कैद गरेर आफ्नो इच्छा र योग्यता बिपरित को काम गर्नु पर्ने वातावण सिर्जना गरिनाले सम्पूर्ण राष्ट्रको नै भबिष्य ओझेलमा पार्न सक्छ । उदाहरणको लागि, भौतिक बिज्ञान (फिजिक्स) पढ्दाबेलाका मेरा थुप्रै साथिहरु अझै पनि आफ्नो बौद्धिक पुजी को लागि उचित बजार नपाएर अन्योल मा छन् । कुनै अनुसन्धान, खोज, आविष्कार तथा प्रयोग को हिस्सा बन्न पाइएला भन्दै भौतिक, रसायन, जीव तथा अन्य बिज्ञानको अध्यन मा होमिएका थुप्रै विद्धार्थीहरुलाइ यो राष्ट्रले औला मा गन्न मिल्ने पनि अवसर पैदा गर्न नसकेको यथार्थ सर्बबिदितै छ । पेसागत छनौटको अधिकार आज का युवाहरु ले उठाउनै पर्ने आवाज हो । आफ्नो बौद्धिक क्षमता र योग्यता अनुसार आफ्नो राष्ट्रभित्रै उचित अवसर पाउनु पर्ने हकबाट कुनै युवा बन्चित नहोस भन्ने तर्फ शासकबर्ग सधै संबेदनशील हुनुपर्छ ।
पटक पटक उचित कार्य(वातावारणको अभावका कारण हड्ताल गर्न बाध्य हुनुपर्ने नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान “नास्ट” का कार्यकर्ता हुन्, या आफ्नो इच्छा र योग्यता बिपरित पेशा गर्न बाध्य पारिएका प्राज्ञहरु हुन्, या आफ्नो बौद्धिक क्षमताका लागि उचित अवसर नपाएर बिदेशिएका कुशल मस्तिष्कहरु हुन्, यहा अधिकांस बौद्धिक पुँजी हरु मिल्किएका छन, कुल्चिएका छन् । त्यहि सुन्दर बौद्धिक कोपिला हरु अन्य विकशित देश मा गई फक्रिदिदा त्यी देशहरु सुन्दर उद्धान जस्तो देखिन्छन । यदि यसतर्फ हाम्रो शासनबर्ग ले समयमै सोच्न सक्यो भने त्यी विवेकशील र सृजनशील कोपिलाहरु हाम्रै जमीनमा फक्रिने छन् र यो देश साच्चै नै सुन्दर, शान्त र विशाल हुनेछ ।