महिलामाथि हुने हिंसा र दुव्र्यव्यहारमाथि ठडिएको पुरुषत्व अनि मायाको कथा
माया (परिवर्तित नाम) लगभग २३ वर्षकि भइन् । काभ्रे जिल्ला, मन्डनदेउपुर नगरपालिका कि माया ३ वर्ष अघि एक युवकसंग आफन्त र फेसबुकको साथ पाएपछि प्रेममा परिन् । उनी सानै छँदा ४० वर्षको उमेरमै रक्सी र गाँजाको कुलतका कारण उनको बुवा बितेका थिए । सायद पुरुषको साहारालाई नै सबैभन्दा भरपर्दो भन्ठानेकि उनी छोटो समयको प्रेममै ति युवकसंग भागी विवाह गरिन् र ति युवककै घर हेटौंडा पुगिन् । केहि दिनको रमाईलो प्रेम जीम्मेवारीमा परिणत भएपछि ति युवक सायद मायालाई बोझ जस्तै महसुस गर्न थाले । भागेर आएकि, त्यसमाथि बुवा नभएकि मायालाई जे गरे नि सहनुपर्ने सोच थियो होला ति युवकको । घरेलु हिंसाले गालेर मानसिक दबाब खेप्न बाध्य मायाले हार खाएर आफ्नो पिडा आमालाई बताइन्, मोबाइल फोन मार्फत । आमाले आफ्नी छोरीको पिडा महसुस गरिन्, सायद उनलाई भागेरै गएकि आफ्नी छोरीको नियती पहिले थाहा थियो । कम उमेरमै विधवा भएकि मायाकी आमालाई पनि मायाको भोगाईमा सबैभन्दा बढि दोष मायाकै लागेको हुनुपर्छ । समाजले त त्यस्तै भन्छ नि होइन र ? गल्ती गरि हाली छोरीले, भागेर गई । लोग्ने र उनको परिवारको अत्याचार पनि सहन सकिन, गर्भवती पनि भई । तर समाजले भनेको कुरालाई सहि थापे पनि आमाको मन त मान्दैन नि । छोरीलाई पिडामा सुनिरहन त सक्दैन नि । आमाले माइत फर्केर आउन भनिन्, मायालाई । तस्विर : फ्रि पिक
५ महिनाको गर्भ बोकि आइरहेकि मायाको गाडी बाटोमा विग्रियो । सायद माइत फर्किन नहुने कुनै दैवी संकेत पो थियो कि ? उनी आफ्नो लोग्नेको घर फेरि फर्किन्, तर उनले जति सुकै चिताए पनि प्रेम गरेर सारा संसार छोडेर विश्वास गरेर आएको युवकका लागि उनी अव प्रेमिका थिइनन् । उनी एउटा घाँडो जिम्मेवारी मात्र भईसकेकि थिइन्, जसलाई गर्भ सहित परित्याग गर्दा पनि समाजले केटालाई होइन केटिलाईनै खराब देख्नेछ भन्ने सोच ति युवकमा पक्कै थियो । फर्केर आएकि गर्भवती श्रीमतीमा ति युवकले आफुप्रतिको प्रेम देख्न सकेनन्, पितृसत्तात्मक सोचले उ भित्र थोरै बाँकि रहेको प्रेम पनि निस्वास भयो सायद । मायामाथिको घरेलु हिंसा झनै बढेर गयो । आफ्नो अस्तित्व सबैभन्दा हेपिएको यस्तो अवस्थाले मायाभित्रका सबै हृदयी भावनाहरु प्रति उनलाई कठोर बनायो । आफुले गरेको असिम प्रेम र विश्वासमाथि उसको लोग्नेले आफ्नो परिवारसंग मिलेर गरेका कैंयन प्रहारले मायाको धैर्यताको बाँध तोडिसकेको थियो । यसरी अवला हुनु अव उनलाई मंजुर भएन ।यो लेख सुन्नुहोस
माया अब संधैका लागि माइत फर्किन् । मैले उनलाई भेट्दा उनीमाथि घटेका घटनाहरुको तितो स्मृती ताजै भएको स्पष्ट महसुस गर्न सकिन्थ्यो । तर उनी काम गरेर स्वावलम्बी हुन चहान्थिन् । छेउमा ढुन्मुन गरिरहेकी उनकी छोरीको जन्मदर्ता लगायतको तनाव पनि थियो उनलाई । मैले उनलाई आफ्नो हकका लागि लड्न हौसाएकोे थिए त्यतीखेर । तर अहिले यि पंक्तिहरु लेखिरहँदा महसुस भइरहेको छ, उनले देखेको समाज र मैले देखेको समाज फरक छ । उनी पितृसत्तात्मक समाजका प्रत्येक अवयवद्धारा खेपेका प्रताडनाबाट हारिसकिन् । उनको वास्तविकता सबैलाई थाहा छ गाँउमा तर सबै उनकै दोष देख्छन् । “त्यसरी कलिलै उमेरमा भागेर विवाह गर्न नहुने उनले गरिन्, गल्ती गरेपछि दुख त भोग्नै पर्छ नि” , यहि सोच हो सबैको । तर बच्चा त उनका कारण मात्र हुन सक्दैन नि होइन ? यदि त्यो सम्बन्ध गलत थियो भने त्यसको परिणाम महिला भएकै कारण उनले मात्रै भोग्नु पर्ने यो कस्तो अनौठो तर्क हो ? महिलाका विरुद्ध हुने सामान्य जीवनमा निहित यस्ता अन्यायहरुको अन्त्य नहुन्जेल परिवर्तनका जस्ता सुकै नाराहरुले पनि हाम्रो समाजलाई कतै पु¥याउन सक्दैन । सबैभन्दा पहिला महिला माथि हुने हर तहका अन्याय र अत्याचार उन्मुलन भएपछि मात्र एउटा सभ्य र अग्रगामी समाजको कल्पना जायज हुनेछ ।