×
Sign Up Support

Member Login

Forgot password?
विचार

उज्वल थापाले युवाहरुको काँधमा छाडेर गएको सुसंस्कृत राजनितीक अभ्यासको नासो

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 2 YEARS AGO 9472 views
Perception AYON #youthnepal

हालसालै मैले युट्युबमा एउटा भिडियो हेरेको थिए । उक्त भिडियोमा युवाहरुलाई नेपालमै बस्न सरकारको नेतृत्व गरिरहेकाहरुले कुनै पनि इन्सेन्टिभ उपलब्ध गराउन नसकेको कारण धेरै युवाहरु विदेशिन बाध्य भईरहेको वास्तविकतालाई प्रस्तुत गरिएको थियो । नेपालमा शिक्षा र स्वास्थ्य जस्तो आधारभुत आवश्यक्ता समेत सामान्य जनताको पहुँचबाट टाढा छ । हुँदा हुँदा बाँच्नका लागि नभई नहुने स्वच्छ हावा समेत दिनानुदिन विषाक्त बन्दै गईरहेको अवस्था छ । सामान्य काम गरेर आफु तथा आफ्नो परिवारको सुख मात्रको इच्छा गर्ने र सामान्य जीवन विताउन पाउने अधिकारको समेत सुनिश्चितता हुन सकेको छैन । यस्तो अवस्थामा एउटा सामान्य युवाले विदेश पलायन नभई के गर्ने त ? सबैमा नेतृत्व गर्ने वा उधमी बन्ने लालसा त हुँदैन नि । उक्त भिडियोमा बताईएका सबै विषय निकै मार्मिक छन् । युवाहरुको निराशाले आफ्नो हद् पार गरिसकेको कहालीलाग्दो अवस्थाको वास्तविक चित्रण गरेको उक्त भिडियो युट्युबमा धेरै पटक हेरिसकिएको छ ।

 
युवाहरुमा व्याप्त यस्तो निराशाका बिचमा केहि यस्ता युवाहरु पनि नेपालमा छन् जसले निराशाको व्यापकतामा पनि आशाका केहि किरण छरिरहेका छन् । उज्वल थापा एउटा त्यस्तै नाम हो जसले आफ्नै जीवनकालमा समृद्ध नेपाल बनाउनका लागि सारा नेपालीहरुलाई घचघचाईरहे ।


केहि दिन अघि मात्र जुन १ मा कोभिडका कारण उज्वल थापाले देह त्याग गरे । नेपाली युवाहरुले नेतृत्वमा हेर्न चाहेका सम्पुर्ण गुण भएका एक असल युवा नेता देशले गुमाएको छ ।


एउटा स्वच्छ र फरक राजनितीक अभ्यासको शुरुवात गरेका उज्वल थापा त्यस्तो राजनितीक अभ्यासकालागि कुनै राजनितीक दल मात्रै पर्याप्त नभई जनतामा पनि विवेकपुर्ण निर्णय गर्न सक्ने क्षमताको विकास हुनुपर्छ भन्ने सोच राख्दथे ।

 
सन् २००० मा अमेरिकाको भर्मन्ट राज्यको बेनिङटन कलेजबाट मल्टिमिडिया डिजाइनिङमा स्नातक तह उत्तिर्ण गरेर फर्के लगत्तै सन् २००३ मा उनले डिजिटल म्याक्स सलुसन कम्पनीको स्थापना गरे । नेपाली समाजमा सकारात्मक परिवर्तनको हरदम आकांक्षा राखेका उज्जवल उधमी मार्फतनै आफुले सोचेको जस्तो परिवर्तन हुन सक्ने विश्वासका कारण सन् २००८ मा आन्ट्रप्रन्युरर्स फर नेपाल (नेपालका लागि उधमी) भन्ने सामाजिक संजालको समुहको शुरुवात गरे । 


मे २७, २०१२ मा नेपालले ठुलो राजनितीक संकट बेहोर्नु परेको थियो । त्यो दिन नेपालको पहिलो संविधान सभा विघटन भएको थियो । नेपालको संविधान निर्माणको अभिभारा बोकेको संविधान सभाले तोकेको समयमा आफ्नो काम सम्पन्न गर्न नसकेपछि मुलुक एउटा संवैधानिक जटिलतामा प्रवेश गरेको थियो । सारा जनतामा निराशा छाएको थियो । देशको अकर्मण्य र फोहोरी राजनिती अनि अविवेकि राजनितिज्ञहरुबाट मुलुकले निकास नपाउने निक्र्योल गरेका उज्वल थापाले निकासको लागि नँया र विवेकी राजनितीक अभ्यासको आवश्यक्ता महसुस गरी विवेकशिल नेपाली दलको शुरुवात गरी “अब के गर्ने” भन्ने अभियान चलाए । सन् २०१३ मा दोस्रो संविधान सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा भाग लिए । दोस्रो संविधान सभाको निर्वाचन पछि विवेकशिल नेपाली हसिलो मुहार चुनाव चिन्ह सहित एक राजनितीक दलको रुपमा दर्ता भयो । 


विवेकशिल नेपाली दलले सन् २०१७ मा नेपालको स्थानिय तहको निर्वाचनमा काठमाण्डौं महानगरपालीकाको मेयर पदका लागि २१ वर्ष कि रंजु दर्शनालाई उम्मेदवार बनाएको थियो । रंजु दर्शनाको उम्मेदवारीले सारा नेपालीलाई विवेकशिल सोचका लागि झक्झकाएको थियो । चुनावमा रंजुले तेस्रो स्थान हासिल गरेतापनि त्यसले युवाहरुमा भरेको उर्जा भने विवेकशिल नेपाली दलले देख्न चाहेको परिवर्तन थियो ।


उज्वल थापाले देखेको समृद्ध नेपालको सपना उनको मात्र थिएन यो सपना सबै नेपाली जनताले देखेका सपना हो । सुखी जीवनको खोजीमा विदेशलाई लक्ष्य बनाएका युवाहरुले पनि आफुभित्र राखेको सपना यहि नै हो । विदेशको सुख सयलमा होस् वा दुखमा, नेपालीहरुले देखेको सपना र अपेक्षा गरेको विपना केवल समृद्ध र शान्त नेपाल नै हो । उज्वलले सपना पनि देखेका थिए र त्यसका लागि हरपल प्रयत्नशिल पनि रहे । 

 

आजका समृद्ध राष्ट्रहरु त्यत्तिकै समृद्ध भएका होइनन् । सयौं वर्ष र पुस्तौंको योगदान पछि आफ्ना सन्ततीका लागि समृद्ध समाजको कल्पना पुरा भएको हो । नेपाल प्राकृतिक रुपमा विश्वको समृद्ध राष्ट्रहरुमा पर्छ । विश्वकै मिलनसार र आवश्यक समयमा निकै बहादुर योद्धाहरु भएको भुमि हो नेपाल । समृद्धिका लागि आवश्यक व्यवस्था हामीले हाम्रै संर्घषले प्राप्त गरिसकेका छौं । व्यवस्था परिवर्तनको नेतृत्व अझै पुरानै सोच हावी भएको पुस्तामा छ । उज्वलले देखेको सपना साकार पार्न केवल नँया सोच भएको नेतृत्वको आवश्यक्ता छ । मात्र ४४ वर्षको अल्पायुमै मृत्यु वरण गरेका यि युवा नेताको सपना पुरा गर्ने अभिभारा अब सम्पुर्ण देशप्रेमी युवाहरुकै काँधमा छ ।