आमा: स्नेह र ममताकी खानी
बिहिबार, आज २०७६ सालको श्रावन २३ गते, मेरो नियमित दैनिकी एउटा हृदयस्पर्शी दृश्यका कारण भावानात्मक बन्न पुगेको छ । घरबाट बालुवाटार स्थित रेवा सफ्ट मेरो कार्यालय पुगिसकेपछि एउटा मिटिङको लागि बानेश्वर जादै गर्दा बालुवाटार को सुबिसु को कार्यालय जहाँ अस्ति मात्रै भिषण आगो लागेको थियो , ठिक त्यहिनिर स्कूटरमा एउटी महिला आफ्नो २/३ वर्षको बच्चालाइ बच्चा बोक्ने ब्याग मा राखेर पछाडीपट्टि बोकेकी थिइन् । बच्चा निदाएको थियो र ति महिला ले बच्चाको टाउको आफ्नो पारदर्शी शलले राम्ररी बाधेर अगाडी छातीमा गाठो पारेर निर्धक्कले स्कूटर चलाइरहेकी थिइन्। बच्चा सुरक्षित थियो र निर्धक्क निदाएको थियो। मानौ त्यो बच्चालाई राम्ररी थाहा छ उसलाई केहि हुने वाला छैन भनेर । ऊ आफ्नो आमासंग छ जो शक्तिशाली, निडर चलाख र अद्भुत छिन । यो दृश्यले मलाई निकै भावुक बनायो। मेरो पनि १८ महिना को सानो छोरा छ । उसले मलाई गर्ने सम्बोधन, उसको हासो र म कार्यालयबाट घर पुग्ने बित्तिकै मसंग झुण्डियेर "मामु बू मामु बू" भनेको आवाज ले मेरो मन सधै हर्षित हुन्छ। मेरा लागि संसारको सबैभन्दा मिठो अवाज नै त्यही हो। ऊ मसंग लट्पटिदै गर्दा म पनि "छैन बु हरायो" भन्छु अनि ऊ मसंग अझै नजिकिदै आउछ र म निकै आनन्द र सन्तोष महसुश गरि उसलाई बुबु दिन्छु। लाग्छ उसले म संग बु हैन दिनभरी याद गरेको ममता र भरोसा मागेको हो । अनि मैले मेरी आमालाई पनि सम्झे । उहाले पनि मलाई र मेरो दाइलाई यसै गरि भरोसा र माया दिनुहुन्थ्यो । कुनै कुराको डर हुदैनथ्यो मन मा । सानो हुदा दाई र म भित्तातिर सुत्न जिद्दी गर्थेउ, छेउमा सुत्नेलाई भूतले लान्छ कि भनेर, अनि मम्मी बिचमा सुतेर कैले मपट्टि त कैले दाईपट्टि फर्किनुहुन्थ्यो अनि त डर नै लाग्दैनथ्यो । ति स्कुटरकी महिला ले यी सब मिठा याद र यथार्थ एकैचोटी महसुस गराइन । घरमा हेरिदिने कोइ नभएर त होला नि उनले आफ्नो बच्चालाई त्यसरी शरीरमा बाधेर लिएर हिड्नु परेको। आफ्नो सन्तानलाई जस्तोसुकै परिस्थितिमा पनि ममताले बाधेर राख्ने यी एवं प्रत्यक यस्ता आमाहरु महान हुन्। हुन त आमा शब्द यसै महान भएको होइन नौ महिना गर्भमा राखेर कैंयौ रात नसुती हरेक दिन आफ्ना सन्तानका लागि हित चिताउने आमा नै हुन्। तर नौ महिना गर्भमा राख्दैमा चै महान बन्न सक्दैनन् । हालसालै को कुरा हो मेरै घर निर एउटा सालनालसंगै को बच्चा लावारिसे अवस्था मा भेटियो । त्यो बच्चा लाई जन्म दिने ति कठोर महिला आमाको दर्जा दिन लायक कि भईनन । कति निर्दयी होला त्यो महिला को मन जसले आफुले ९ महिना कोखमा राखेर जन्माएको बच्चालाई त्यसरी मकैबारीमा छोडेर जान सकिन् । म एउटी कार्यरत महिला हु र मेरो यस उपलब्धिमा मलाई मेरो परिवारका सम्पुर्ण सदस्य ले साथ् दिनुभएको छ। मेरो सासु जो मेरी आमा भन्दा कम हुनुहुन्न ,उहाले मेरो सानो छोरालाई दिनभरी आफ्नो माया र ममतामा राख्नु हुन्छ, कैले कहिँ दिंउसो फोन गर्दा बाबु खेलिराखेको हुन्छ अनि म खुशी हुन्छु कमसेकम मैले आफ्नो बच्चालाई त्यसरी लिएर हिड्नु परेको छैन र कोही पराई को आश मा छोड्नुपरेको छैन। कहिलेकाही मेरै ममीसंग छोडेर आउछु। म जस्तै कयौ महिला छन् जसले आफ्नो जीवनमा आफ्नो पहिचान बनाउन खोज्दा कसैको साथ् नपाएर घरमै सिमित हुन्छन । धन्यबाद छ ति आमाहरुलाई जसले आफ्ना छोरी बुहारीलाई अगाडी बढाउछन् । म सबैमा अनुरोध गर्दछु आफ्नो श्रीमती, बुहारी, छोरी, भाउजु, नन्द, दिदि बहिनिलाई साथ् दिनुस। उनीहरु अघि बढ्न खोज्दै छन् भने उनीहरुको हौसला बनिदिनुस। एउटा सानो हौसलाले कसैको मनोबल कति बढ्छ त्यो व्याख्या गर्न सकिदैन । यो संसारमा माया, ममता र खुशी फैलाउने सबै आमाहरुलाई नमन।