×
Sign Up Support

Member Login

Forgot password?
विचार

कमल प्रसाद घिमिरे र आक्रोशित स्वदम्भ

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 3 YEARS AGO 3451 views
Perception

 

हिजो ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्न जम्मा भएको भिड र प्रहरी बिच हिंसात्मक झडप भयो । त्यस झडपमा ट्राफिक प्रहरी कमल प्रसाद घिमिरेलाई एउटा भिडले खेदि खेदि निर्घात रुपमा कुटपिट गर्यो । उनी ट्राफिक प्रहरी भएकाले भिंडलाई नियन्त्रण गर्न नभई सवारी व्यवस्थापन गर्नलाई आफ्नो मोटरसाईकलमा जांदै थिए । त्यसै क्रममा भिंडले रोकेर उनलाई निर्घात कुटपिट गर्न थाले । उनको टाउको र जीउमा गहिरो चोट लागेको छ  । हाल उनको पुल्चोक स्थित अल्का अस्पतालमा उपचार भईरहेको छ । भिडले उनको सवारीसाधनसमेत तोडफोड गरेको छ । कुटपिट गरको उक्त भिडियो सामाजिक संजालमा सर्वत्र चर्चाको विषय बनेको छ । यसलाई असभ्यताको पराकाष्ठा भन्दै यस्तो पाशविक घटनाको सर्वत्र घोर विरोध भएको छ । 


आफ्नो कर्तव्य पालनका लागि खटिएका ति ट्राफिक प्रहरी कमल प्रसाद घिमिरे माथि भिडले देखाएको उक्त आक्रोशको जायज कारण खोज्नु भनेको मुर्खताको अर्को पराकाष्ठा हुनेछ । यो घटना निन्दनिय छ, कर्तव्यमा खटिएका पेशागत पोसाक लगाएका ट्राफिक प्रहरीमाथी कुटपिट गरिनु नितान्त गैरकानुनी र दण्डनिय अपराध हो । यसको आवश्यक छानविन भई सम्पुर्ण दोषिहरुलाई उचित दण्ड र जरिवानाको व्यवस्था सम्वन्धित निकायले गर्नैपर्छ । 


कोरोना महामारिका कारण सारा विश्व आक्रांत छ । नेपालमा लामो समय लकडाउन गरेपछि त्यसलाई खुकुलो बनाउन विभिन्न पक्षको दबाबमा लकडाउनलाई केहि खकुलो गरियो । लकडाउन खकुलो भएपछि तिव्र रुपमा कोरोना संक्रमण फैलियो । असंयम भिडभाड र जनमानसको असावधानीका कारण संक्रमणको तिव्रता प्रमाणित भएपछि अझै कडाइका साथ हाल निषेधाज्ञा नै जारि गरिएको छ । रोकथाम र नियन्त्रणका योजनाहरुको निर्माण र कार्यान्वयनका लागि पर्याप्त समय हुंदाहुदै पनि सरकारका संयन्त्रहरु संपुर्ण रुपमा असफल भए । सरकारको नेतृत्व गरिरहेको दल नागरिकप्रति पुर्ण रुपमा अनुत्तरदायी भई आन्तरिक किचलोमा रुमल्लिरहेको छ । सरकारको नेतृत्व गरिरहेकाहरुले नै विधिको उपहास गरिरहेका छन् । प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गरिरहेकाहरु सरकारलाई खवरदारी गर्नुको साटो भागबण्डामा यसरी लागेका छन् कि मानौ अव उनीहरुलाई सरकारले प्राप्त गर्ने राष्ट्रको शक्ति र स्रोतमा कहिल्यै पहुँच मिल्ने छैन । 


विकसित र सभ्य समाजमा विधिबाट शासित हुनु सबैका लागि अनिवार्य त हुन्छ नै तर त्यो गौरवको विषय पनि हुन्छ । हाम्रो जस्तो असमानताले व्याप्त समाजमा तुलनात्मक रुपमा सम्पन्न केहि समुदाय आफु र आफ्नासंग सम्बन्धित विषयवस्तुहरुमात्र महत्वपुर्ण वा प्रिय ठान्छन् ।  असल मार्गदर्शक भई नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने सरकारकै यस्तो गैरजिम्मेवारीपुर्ण रवैयाले यस्ता संकिर्ण र असुरिक्षत मनसायलाई झनै बढावा दिन्छ । 


हाम्रा आक्रोश र असुरक्षालाई मल जल गर्ने सरकारका यस्ता रवैयालाई कारण देखाउदैमा के हिजोको घटनाका विषयमा कुनै पनि सभ्य र संस्कृतीमा धनी समाजले आँखा चिम्लन सक्छ ? के त्यो आक्रमण गर्ने भिडका युवाहरुका लागि ति ट्राफिक प्रहरीको जीवनको मुल्य उनीहरुको संस्कृती वा उनीहरुको परम्पराको एक अंशभन्दा निकै कम महसुस भयो ? के ति एक ट्राफिक प्रहरीले कसैको पहिचान वा संस्कृतीमा धावा बोलेका वा बोल्न सक्थे ? के त्यो भिड अपनत्वको दम्भमा संवेदन सुन्य भयो ? कुनै एक जीवनको संवेदना र त्यससंग जोडिने कैयौं मानवीय संवेदनालाई बुझ्न नसक्ने ति आक्रमणकारी युवाहरु कसरी कुनै पनि संस्कृति, परम्पराका अनुयायी हुन सक्छन् ? एक निहत्था वर्दिधारी प्रहरीमाथि लखेटि लखेटि सांघातिक आक्रमण गर्ने ति युवाहरुको मानसपटलमा कसरी त्यस्तो पाशविक आक्रोशले ठाँउ लिन सक्यो ? यो गम्भिर विषय हो । यसका व्यक्तिपिच्छै उनीहरुको आ आफ्नो पृष्ठभुमि अनुसारका सोचाई हुन सक्छन् । तर बुझ्नुपर्ने विषय के हो भने हामी आफ्ना बालबालिकाहरु जसको उज्ज्वल भविष्यका लागि विभिन्न शैक्षिक तथा नैतिक लगानी गरिरहेका हुन्छौ के उनीहरुलाइ कुनै पनि हालतमा यस्तो हिंस्रक र अमानवीय घटना हुन सक्ने समाज दिन चाहान्छौं ? सरकारलाई दोष दिएर आजका यी बालबालिकाहरुको भविष्यमाथि प्रश्न चिन्ह छोडेर जान सक्छौ ? संसारका सफल र सभ्य समाज सहिष्णुता र सभ्यतामा झन झनै परिस्कृत हुंदै गईरहेका छन् । के यस्ता घटनाहरुले हाम्रो समाजका बारेमा अन्तरास्ट्रिय जगतमा बनाइने मानसिकताले विदेशलाई कर्मथलो बनाएका हाम्रा आफन्त र हाम्रा सन्तती लाई असर नगर्ला ? सरकारलाई दोष दिंदैमा हाम्रा निजी असभ्यता र जंगली प्रवृत्तीहरुमा अकर्मण्य हुन सकिदैन । यसलाई चिन्न र यस्ता प्रवृत्तिका विरुद्ध लाग्न जरुरी छ, चाहे ति हाम्रै आफ्नै वा आफन्तकै किन नहुन् । 

 

के तपाई समाजलाई तपाईका प्रेरणादायी र सकारात्मक सोचद्धारा परिवर्तन गर्ने सोच्नुहुन्छ ? आफ्ना लेखहरु स्वदेशसन्देश म्यागजिनमा प्रकाशन गर्न Sign Up  गर्नुहोस् ।