मेरो विश्वासको सगरमाथा
मेरो विश्वासको सगरमाथा त्यो हावाको मलिनो धक्काले धरमराउने भए, सजिलै ढल्ने भए, किन मैले सगरमाथा ! तिमीलाई मेरो छातिको गहिराइमा सधैभरि एउटा अदभूत प्राप्ति, उचाइको गर्व सम्झेर बोकें त ? तिम्रो शिरको गर्व छ तिम्रो उचाइको गर्व छ मलाई म बोक्न सर्कौ युगयुगसम्म तिम्रो वजन थेग्न सकुँ तिम्रो उचाइ जीवनभर । मेरो सगरमाथा! तिमीभन्दा अग्लो को छ मैले देखेको संसारमा ? तिमी छौ र त म बाँचेको छु, तिमी छौ र त म गर्विन्छु, तिमी छौ र त म आश्रित छु, तिमी छौ र त म चिनिन्छु, तिमी छौ र त म पनि छु जस्तै देखिन्छु । तिमी ढल्नु त कता हो कता नाम्चेबजारमात्र काँप्यो भने सगरमाथा! मेरो त रक्तसंचार टुट्छ, कोषिकाहरु विकलांगिन्छन अनि के अस्तित्व मेरो चेतनाहीन शरीरको ? सगरमाथा! तिमी र म अन्योन्याश्रित भएसम्म मेरा जीजीविशा तिमीसम्म पुग्दै तरंगित र अंकुरित भैरहन्छ किनकि जीवन आखिर तिम्रो पहिचान र मेरो गर्वमा मुस्काउँछ युगयुगसम्म सगरमाथा तिमी हल्लीने कल्पनै नगर मेरो विश्वासको सगरमाथा ! तिमी हल्लिदा मेरो जग भासिन्छ भने तिमी ढल्ने चेष्टा नगर सगरमाथा ! मेरो शरीर रहेसम्म तिमी विश्वासको सगरमाथा हौ त्यसपछि पनि तिमी मेरै सगरमाथा हौ जुन ढल्दैन सितिमिति गल्दैन सजिलै केही हिमपहिरो आउला जाला तिम्रो वरिपरि तरपनि तिमी सगरमाथा हौ! रित्तिन्न हीमपहिराहरुले । विश्वासको सगरमाथा ! म रहुँला, नरहुँला तर भावी सन्तानकालागि भएपनि एउटा अजेय खम्वा बनेर ठडिनुपर्छ तिमी त्यसैले सगरमाथा! तिमी झुक्ने चेष्टा नगर । तिम्रो गर्भमा अटाएका विशाल चट्टान के त्यो कमजोर जग हो र ? सानातिना भूकम्पका धक्का त तिम्रो जगमै विलाउँछ भने ससाना हावाका पित्काहरुदेखि किन डराउँने ? किन आत्तिने ? त्यसैले, मेरो विश्वासको सगरमाथा ! हल्लिने चेष्टा नगर