×
Sign Up Support

Member Login

Forgot password?
समाज

फुटपाथको जीवनले मानव भएकोमा पश्चाताप गराएको अनुभव बटुलेका एक सहासी युवकको कथा

Sushmita Aryal
Sushmita Aryal 3 YEARS AGO 991 views
Society Sushmita Aryal

मानवसेवा आश्रमको काठमान्डौं शाखा कार्यालयमा सेवाको लागि आएको केहिदिन, लगभग त्यस्तै दश बाह्र दिनको परीक्षण काल पार गरेपछि म नियुक्ति लिन मुख्य कार्यालय हेटौंडा पुगे । मानवसेवा आश्रमको मुख्य कार्यालय परिसस पुग्दा एउटा अनौठो अनुभव मन भरी भयो । त्यँहा मैले केवल मानवमात्र भएका अनेकौ अनुहारहरु देखँे र महसुस गरे । ति अनुहारहरु जात, वर्ण र धर्मसंग आवद्ध थिएनन । सामाजिक बन्धनमा बाँिधन अयोग्य ति अनुहारहरु केवल मानव मात्र, जीवित मानव मात्र, एक प्राणी मात्र । ति मुहारका गहिराईमा म एक अवोध तर उत्सुक बालिका सरह टोलाईरहे । उनिहरुका अवस्थाका बारेमा जान्न म झनै उत्सुक हुन थाले । 

 

सेवामा नयाँ भएको कारण मेरा जिज्ञासा मेट्न म आफ्नै मनका भावमा बग्न थाले । हेटौंडा मुख्यालयमा एक दिनको बसाई सकिएपछि म काठमान्डौं फर्किए ।  काठमान्डौ वनस्थली रानीवन शाखामा नियुक्ति पछि काममा व्यस्त हुन थाले ।

 

तिनसय भन्दा बढि मानवको लागि खाने बस्ने क्षमता भएको म कार्यरत यस शाखामा सेवा गर्ने साधक साधिका पनि पर्याप्त नभैसकेको र भौतिक निर्माण कार्य पनि भइरहेकोले मैले गर्ने सेवाहरु पनि प्रसस्तै थिए । तर व्यस्ततामा पनि ति मुहारका गहिराईहरुले मलाई बोलाईरहे । मेरा उत्सुकता ति गहिराईहरुसंगै गहिरिदै गईरहेका थिए । 


ति मानवहरुले सडक पेटिमा हुँदा भोगेका अमानवीय व्यवहारहरुको अनेकौ कथा प्रत्येक दिन मेरो मन मस्तिष्कमा नाच्न थाले ।


हाल आश्रममा रहेका सहयोगापेक्षि मानवहरु मध्येमा अमित भाईको नाम धेरैको मुखबाट सुन्न थाले । सहकर्मी साथीहरुले मलाई अमितको कथा धेरै पटक सुनाइसकेका थिए तर म अमितकै मुखवाट उनले भोगेका भोगाईहरु सुन्न चाहान्थे । तर मनमनै त्यो वार्तालापको सम्भावनाका बारेमा चिन्तन गर्न थाले । उनि पहिलेको भन्दा धेरै परिवर्तन भै सकेका छन् । अमित अहिले पूर्णरुपले सक्षम छन् । मैले उनका पुराना यादहरु दोहो¥याउदा ति यादहरुले उनलाई आहत पो पर्छकी भन्ने कुरामा म संयमित थिए । 


धेरै सोचेपछि मैले अमितलाई मेरो अफिस कोठामा आउनको लागि आग्रह गरे । बोलाउने बित्तिकै दिदी म आए भन्दै मेरो टेवल अगाडि आईपुगे अमित । कुराकानीको सामान्य औपचारिकता पुरा गरेपछि मैले उनलाई आग्रह गरे, “भाई म तिम्रो बारेमा केहि कुराहरु जान्न र बुद्मन उत्सुक छु के तिमिसँग मेरो लागि थोरै समय छ ?” अमितले मेरो आग्रहलाई निकै सहजताका साथ लिइदिए, मनमनै म उ प्रति कृतज्ञ भए । हामी पाँच तले भवनको छत माथि गफ गर्न गयौं । 

आश्रमका अन्य आश्रीतहरुलाई खाना खुवाउदै अमित 
 
अमितको परिचय :


आमा महेश्वरी कुमारी बम र बुबा सीताराम बमका माइला छोरा अमितको जन्म २०४८ साल पुस चौध गतेका दिन सुदुरपश्चिम डोटिको केदार अखडा भन्ने ठाँउमा भएको हो । एक दाजु र दुई बहिनीका बिचमा हुर्केका अमितको बालापन अभावमै वित्यो । धेरै सन्तानका बुबा, गाँउकै प्राथमिक स्कुलमा नेपाली पढाउने शिक्षक एक्लैको कमाईले सबैको तालमेल मिलाउन गाह्रो भएकैकारण अमित पढाईको लागि आफ्नो काकाको घर गए ।

 
काका पनि शिक्षकनै हुनुभएकोले पनि अमितलाई पढाई प्रति रुचि थियो । अमितले काकाकै सहयोगमा क्याम्ब्रीज इङलीस बोर्डिङ स्कुल धनगढि कैलालीमा पाँच कक्षा सम्म पढ्ने मौका पाएका थिए । राम्रो पढ्ने अमित अरु साथीको उमेरका तुलनामा अलि बढि उमेर भएका कारण प्राथमिक तह बाट सिधै कक्षा आठमा भर्ना भए । सानै देखि पढाईमा लगाव भएका उनले राधाकृष्ण मा.वि. डोटि बाट प्रथम श्रेणिमा फलामे ढोका एसएलसी पासगरे । छोराको पढाई बाट खुसी हुनुभएका बुबाले नै अमितलाई क्याम्पस पढ्न काठमाण्डौं पठाउनु भयो । 

 

क्याम्पसको पढाई :


काठमान्डौंमा उनले आइएस्सी गरे र कामको खोजीमा लागे । पढाईमा अब्बल विद्यार्थि भए पनि विरानो शहरमा उनलाई चिन्ने र सहयोग गर्ने कोहि थिएनन् ।  सोचेको जस्तो काम पाउन नसकेका अमित जीवन धान्नकै लागि होटलमा भाडा माझ्न थाले । सुरुसुमा पैसा पठाउने बुबाले पैसा पठाउन छोड्नु भयो । पैसाको अभाव र खाने बस्ने ठाँउको ठेगान हुन छोडे सँगै अमितको सडक जीवन शुरु भयो ।

 

राजधानीको बसाई :


बुबाको पठाउने पैसाको आशाहरु मलिन हुँदै गए । धमिलिएका आफ्नै पाइतालाका डोवहरु पक्षाउदै उनि होटलमा भाडा माझ्ने काम गर्न थाले कहिँले चौंध घण्टा त कहिले सोह्र घण्टा । भाडा माझ्दा उनलाई खान र बस्न त जेनतेन पुग्थ्यो तर पढ्नको लागि पैसा उनले कमाउन सकेनन् । पढाई छुट्यो घर परिवार सँगको सम्पर्क पनि विस्तारै घट्दै र पछि हट्दै गयो । कहिले वर्ष दिन त कहिले छ महिनामा मात्र घरमा फोन सम्पर्क गर्थे उनि । बुबाले हालखवर सोध्नुहुँदा आफू कहिले गाईगोठ त कहिले सडक पेटिमा सुत्छु भन्न चाहेन उनको मनले र सरल तरिकाले घरकालाई ढाटिदिन्थे उनि । अनि भन्ने गर्थे म त ठिक छु आराम छु तपाईहरु सञ्चैले बस्नुस् है ! घरकालाई यो थाहा थिएन कि उनि भाडा माझ्न नसकेको दिन होटलबाट निकालिए । जाने ठाँउ र सहारा कहि नदेखे पछि उनि भगवान बस्ने घर, मन्दिर पुगे । भगवानको शरणमा । 
काठमान्डौंको बुढानिलकण्ठ मन्दिर जहाँ दिनहुँ हजारौ श्रद्धालुको भिड लाग्छ । निर्जीव भगवानको मुर्तिमा सबैले भेटि चढाउथे, फलफूल चढाउथे, परेवालाई दिने चामल अमित सुत्ने पेटि भरि छरेर जान्थे अमित र उनका भोगाई अदृश्य भईदिन्थे ति धार्मिक आँखाहरुमा । अमितलाई मानव भएकोमा पीडा हुन्थ्यो, परेवा वा मुर्ति भएका भए अमितको भोगाई सायद पिडादायी हुने थिएनन् । भोक, रोग, तिरस्कार, अदृश्य अस्तित्वले अमितलाई मनोरोगी बनायो ।

 

मानवसेवा आश्रमको उद्धार :


२०७६ साल माघ १२ गतेका दिन मानव सेवाआश्रमले नेपाल प्रहरी मार्फत अमितको उद्दार ग¥यो । उनको फारममा उनको थर मानव राखिएको छ भने उनको उद्धारको कारणमा सहयोगापेक्षी बेसहारा, अशक्त, अनाथ, असहाय, अभिभावकविहिन भई खुला आकाशमुनी कष्टपूर्ण जीवन विताउन विवश भनि उल्लेख गरिएको छ । आश्रमको रात्रीकालीन सडक सेवाको क्रममा उनको उद्धार गरीएको हो । सुरुवाति दिनहरुमा अमितका क्रियाकलापहरुका बारेमा आश्रमका उद्दार प्रमुख रामकृष्ण श्रेष्ठ बताउछन् – “ अमित कपडा समेत लगाउन नमान्ने, औषधी खान नमान्ने, खाली नबस्ने घमण्डी स्वभावका थिए । ” एकछिन सम्झदै फेरि बताउछन्, रामकृष्ण श्रेष्ठ – “ अमित धेरै काम गर्थे तर उल्टो, उनलाई हेरचाह गर्न धेरै कठिन थियो” । 


अहिल यसरी राम्रो सँग कुरा गर्ने े अमितको थर किन मानव राखिएको हो त भन्ने मेरो प्रश्नमा विगत चार वर्ष देखि आश्रमकै सेवामा तल्लीन साधिका मन्जु आचार्य बताउनुहुन्छ – “ उद्धार भएको शुरुका दिनहरुमा अमित कसै सँग पनि बोल्दैन थिए । अमित अहिले यसरी कुरा गर्ने भएकोमा आश्रमका साधिकाहरु सबै दंग छन् । अमित एक वर्ष सम्म केहि नबोल्दा उनको बारेमा केहि पनि खोजी गर्न सकिएको थिएन । अब पहिलेको जस्तो कहाँ हो र, अहिले अमित त आश्रमले उपलब्ध गराएको औषधीको नियमित सेवन गर्छन ।  आफ्नो अध्ययन निकै मन लगाएर गर्छन्” ।  

 

अमितका सपनाहरु :


अहिले अमितको दैनिकीमा विहान स्वअध्ययन, आश्रमका अन्य आश्रीतहरुका लागि चिया नास्ता बाड्ने, सरसफाई गर्ने, क्याम्पस जाने अनि आफ्नो लागि कामको खोजी जस्ता कृयाकलापहरु पर्दछन् । उनका केहि आफ्नै सपनाहरु पनि छन् । विज्ञान संकायको स्नातक तहमा पहिलो वर्षमा यहि वैशाख महिना बाट भर्ना भएका अमितलाई अब आफ्नो पढाई पुरा गरी आफ्नै गाँउको विद्यालयमा मा.वि. सम्म पढाउने शिक्षक बन्ने ठूलो धोको छ । राजधानीमा बस्न मन छैन भन्ने मेरो प्रश्नमा उनि जोसिदै उत्तर दिन्छन् – “जागिर पाए त बस्थे नि । गाँउबाट जे परे पनि आउँने यहिँ नै हो । म भनेर कति आफन्तहरु आउनु हुन्थ्यो होला ? हुन त आश्रममै पनि मेरो लागि धेरै सेवाहरु छन् ।

 

आश्रमको सेवा त म जसरी पनि जहाँ रहेर पनि गर्न सक्छु । अब घर पुगेर बुबाको सेवा गर्ने रहर छ ।” उनी हौसीदै थप्छन् – “ अनि दिदी ! गाँउमा त बुबाले पढाउनु भएको स्कुलमा सबैले चिन्छन् होला नी मलाई” । अनि मुस्कुराँदै अमित भन्छन् – “ चिनेपछि त जागिर दिन्छन् कि भन्ने कुरा नि दिदी” । अमितमा नँया जीवनको आशा भरी उसलाई यस्ता जोशिला कुरा गर्न सक्ने  बनाएको मेरो कर्मथलो मानवसेवा आश्रमलाई कोटी कोटी नमन । अमितका आँखामा देखिएका भविष्य प्रतिको चिन्ता र परिवारलाई दिने सुखको सपनाका लागि आश्रमले उनको पढाईमा गरेको सहयोग र साथको लागि सलाम । केहि मनकारी मनहरुका सहयोगले सहयोगापेक्षि जीवनहरुमा ल्याउन सक्ने परिवर्तन अमुल्य हुन्छ । मानवसेवा आश्रमले २०७८ साललाई सडक सहयोगापेक्षी मानव मुक्त नेपाल बनाउने अभियान संचालन गरिरहेको छ ।