×
Sign Up Support

Member Login

Forgot password?
विचार

मधेसीमा वर्जित राष्ट्रप्रेम

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 4 YEARS AGO 2144 views
Perception Ankur Mourya

हिजो आज नै होला, मेरो एक जना साथीले कमेन्ट पोष्ट गरेको एउटा लिंक देखे, त्यो लिंक को शिर्षक “भारतले सीमा मिच्दा मधेसवादी नेताहरु भुमिगत” र त्यो समाचार लेख्ने कुनै नाम नभएर एउटा पद थियो, एडमिन । मैले त्यो लिंक खोलेर हेरे, म प्राय मेरो न्युज फिडमा देख्ने त्यस्ता सामग्रीहरु क्लिक गर्दिन तर नेपाल सरकारले साइबर कानुनलाई अझ कडाइका साथ लागु गर्ने बताइरहेको यस्तो अवस्थामा पनि यस्तो समाचार प्रकाशन हुन सकेको देख्दा अचम्म लाग्यो । यो समाचार भनौ कि लेख भनौ कि हावा गफ भनौ लेख्ने जे हो उनलाई पक्कै थाहा छ, यस्ता सामाग्रीमा धेरै प्रतिक्रिया र क्षणिक प्रभावहरु आएर उनको अनलाईन ब्यवसाय राम्रो चल्छ । उनको उक्त सामाग्रीमा एउटा अमुल्य लेख जसरी नै प्रतिक्रिया आएको छ । प्राय प्रतिक्रियाको सारमा मधेशवादी नेताहरुलाई भारतीय, धोती, नागरिकता किनेका, भारतका नमक हलाल जस्ता शब्दद्धारा गाली गरिएको छ । समाचार भित्रको व्यहोरा र शिर्षकमा कुनै मेल नै थिएन । न यि नेताहरु भुमिगत भएका रहेछन् ।


एकजना मेरा मधेसी मुलका मित्रलाई लिपुलेकका विषयमा भएको एउटा बहसमा उनलाई उनकै एकजना मित्र भाइले जिस्किदै भने “दाई तपाइ त खुशी नै हुनुहुन्छ होला नि है, भारतकै पक्षमा त होला नि तपाई”  । ति भाइ मेरा मित्रका एकदमै मिल्ने साथी पनि रहेछन् । उनले त्यो भाइलाई रिसाएरै सम्झाए । उनले सोधे पनि, “मेरो राष्ट्रियता र मेरो राष्ट्रप्रेमका बारेमा निर्णय गर्ने तिमी को हौ, म मधेसी र तिमी पहाडको हुंदैमा तिमी म भन्दा बढि राष्ट्रप्रेमी भयौ ?” उनले चित्त दुखाएरै विवाद गरे । ति भाइले पनि सारै खिन्न हुदै माफी मागे र मजाक मात्र गरेको बताए ।  

 


आज भन्दा केहि वर्ष अघि एउटा संस्था दर्ता गर्ने क्रममा म संगै माध्यमिक शिक्षा अध्ययन गरेका मेरा अत्यन्तै मिलनसार एवम् नजिकका एकजना साथीले मेरो नागरिकता देखेछन् । उनले पछि अन्य साथीहरुका अगाडि पनि भनेछन् “यसको नागरिकता त वंशज नै रहेछ नि” । म त्यतिखेर उनले अरु साथीहरुलाई पनि त्यो सुनाइदिएकोमा एक हिसाबले खुशी भएको थिए । मेरो नागरिकता वंशज नै भएको सबै साथीहरुले अनायासै थाहा पाएकोमा खै अर्कै किसिमको गर्व महसुस गर्दै थिए । मेरो राष्ट्र प्रेमको भावनाले कसैको अनुमोदन प्राप्त गरे जस्तो अनुभूती भइरहेको थियो । कक्षा ९ मा पढ्दा मेरो एक जना सहपाठीले भारतमा सबैभन्दा धेरै विद्यालय हो कि विद्यार्थी (मैले ठ्याक्कै के हो विर्से) भएको प्रसंगमा मलाई जिस्काउदै, “तेरै देशमा त रहेछ नि” भनेका थिए । त्यो पिडा बोध मलाई थियो तर साथीको नाममा मैले त्यो विर्सन बाध्य थिए । यि उल्लेखित दुवैजना मेरा एकदमै मिल्ने साथीहरु हुन । अहिले पनि हामी घनिष्ट छौं । मैले भोगेको यो भावनाका विषयमा मैले आज अघि कहिले सार्वजनिक गरेको थिईन । उनीहरुको पनि मेरो चित्त दुखोस भन्ने कुनै मनसाय थिएन । उनीहरुले समाजमा देखे भोगेका कुराहरुको नक्कल मात्र गरेका थिए ।


 
यो लेखको उद्देश्य ति नामै नखुलाई मधेसी नेताहरुलाई भुमिगत भए भनेर लेख्ने लेखकको खोइरो खन्नु वा ति मधेसी नेताहरुको महानताको गुनगान गाउनु होइन । त्यसैगरी त्यो लेख नै नपढि मधेसी भएकै आधारमा कसैलाई राष्ट्रियता जस्तो गम्भीर विषयमा जथाभावी कमेन्ट गर्ने, होच्याउने, गाली गर्नेहरु आफ्नो मुर्खता र अज्ञानताका कारण जीवनमा हार भोगीरहेकाहरु, सामाजिक सञ्जालमा अरुलाई गाली गरेर आफुलाई केहि बेर मात्र भएपनि ठुला ठान्नेहरुको बारेमा बयान गर्नु पनि यो लेखको उद्देश्य होइन । 


यि घटनाहरु कसैको मजाक उडाउने अभिप्रायले गरिएका हुन सक्छन् । कसैका लागि सामान्य ख्याल ठट्टा र तुच्छ भएपनि चर्चा बटुल्ने हुन सक्छन् । तर यसैका कारण कतिपयहरु कुण्ठित र दुखि भएका हुन सक्छन् । ठुलाबाट नै सानाले सिक्छन् । आफना बालबालिकाहरुलाई कसैको क्षेत्र, भाषा, रहनसहन र जातजातिका आधारमा भेदभाव गर्न दिनु हुंदैन । त्यसका लागि पहिला आफैले सिक्न जरुरी छ । यहि भेदभावकै कारण विभिन्न आन्दोलनहरु भएका छन् । त्यस्ता भेदभावले जन्माउने आन्दोलनले समाजलाई विकास तर्फ नभई विनाश तर्फ धकेल्छ । अमेरिका जस्तो शक्तिशाली राष्ट्रका राष्ट्रपति पनि आफनो भेदभावपुर्ण व्यवहारका कारण घृणित भएका छन् । राष्ट्रप्रतिको प्रेम अरुको राष्ट्रियता र राष्ट्र प्रेमलाई होच्याएर वा त्यसमा टिका टिप्पणी गरेर मात्र प्रकट हुदैन् । त्यो कुनै व्यक्तिको अधिकार भित्र पनि पर्दैन । मधेस भारतीय सिमामा भएका कारण त्यहाका जनताले पाएका सिमा अतिक्रमण लगायत थुप्रै किसिमका सिमा अपराधहरुका कारण पाउने दुःख, पिडा त छदै छ । त्यसमाथि पनि मधेसी भएको कारणले मात्र राष्ट्रियताका विषयमा आफ्नै मुलुकका दाजुभाइ र दिदिबहिनीहरुले हेर्ने शंका र हेयको दृष्टिकोणले प्रत्येक पटक मन छिया छिया हँुदो हो । आफनै मुलुकमा पराया महुसस गराइदा कत्ति चित्त दुख्दो हो । तर हरेक मधेसी दाजुभाइ तथा दिदिबहिनीहरुले पनि बुझनु पर्दछ, कसैले तपाईको राष्ट्रियतामा तपाईको वर्ण र भाषाका आधारमा मात्र नकारात्मक टिप्पणी गर्दैमा हतोत्साही हुनुपर्ने कुनै कारण छैन । तपाईसंग त्यसरी कुरा गर्ने उसको कुनै अधिकार छैन । त्यस्तो व्यक्ति मात्र जुनसुकै उमेरको भएपनि अल्पबुद्धि भएको एउटा मुर्ख हो । यो राष्ट्र जति उसको हो त्यत्तिकै तपाईको पनि । राष्ट्रियता जात, वर्ग र धर्मभन्दा माथी रहेको हुन्छ । जबसम्म हामी नेपाली आफैमा विभाजित मानसिकताबाट मुक्त हुनसक्दैनौ तबसम्म हाम्रो राष्ट्रियता सबल हुन सक्दैन् । मधेशी र पहाडीयाको राष्ट्रियताको तुलना गर्नुभन्दा राष्ट्रियताको विषयमा सबै नेपाली एकजुट हुनु अपरिहार्य रहेको छ । 

 


अहिले भारतले नेपाली भुभागमा पक्की सडक बनाएको छ । यस विषयमा सम्मुर्ण नेपालीहरुको मन आक्रान्त छ । जति पहाड र हिमालका नेपालीहरुको मन पोलेको छ, त्यति नै मधेसका सबै नेपालीहरुको मन छटपटाएको छ । त्यो हाम्रो भुमि हो । इतिहासका हरेक पानाहरुमा त्यो भुमि नेपालको भएको प्रमाण छताछुल्ल छ । हरेक तह र तप्काबाट भारतको यस मिचाईको विरोध हुनुपर्दछ । कुनै मधेसीले यसमा आफ्नो आक्रोेश पोख्दा उसलाई शंकाको दृष्टिले नहेरियोस । कुनै मधेसीको राष्ट्रप्रेमलाई कसैको अनुमोदनको आवश्यक्ता नहोस् । मधेसीहरु त सदियौ देखि भारतको मिचाइको साहसपुर्ण सामना गर्दै आइरहेका छन् । अहिलेको समय हामी सम्पुर्ण नेपालीहरु एकजुट भई भारतको यस कदमको विरोध मात्र नभई यो मुद्दालाई सदाका लागि समाप्त गर्न र हाम्रो गुमेको भुभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता लिन सरकारलाई जस्तो सुकै कदम चाल्न बाध्य पार्नुपर्दछ । 

 

 

अन्त्यमा, एउटा प्रसंग, केहि दिन अघि मात्र एक जना पाका उमेरका महानुभावले मलाई भनेका थिए, “मैले धेरै वर्ष जापानीहरु संग काम गरे, ति जापनिहरुले मलाई बताउथे, नेपाल कहिले पनि कसैको अधिनस्थ भएन, कुनै साम्राज्यवादीहरुले नेपालीहरु माथी शाशन गर्न सकेका छैनन, त्यसैले यहांका शासकहरुले राष्टप्रेम, जनताप्रतिको उत्तरदायित्व र सिमानाको रक्षालाई जुन गहिराईमा बुझ्नु वा लिनुपर्ने हो त्यो लिएका छैनन्” । सायद यो पटक जापानीहरु हाम्रा बारेमा गलत हुनेछन् ।