बहाना छोडेर चहाना तर्फ लाग्ने कि
सडक नियम पालना गर्न त सडक चौडा र चिल्ला हुनुपर्यो नि !! यी फोहोरवालाहरुले फोहोर नउठाएर नि हाम्रो चोक नै फोहोर भैसक्यो !! दश वजे आउंछु भनेको जामले गर्दा ढिला भयो, सरि है । उपत्यकाको काठ भेगको वासिन्दा म, एक दिन दाइसंग कलेज जादै थिएं, एक जना महामहिम आफ्नो बच्चालाई आफ्नो मोटरबाइकको अगाडि राखेर स्कूल छोड्न जादै थिए, त्यो पनि बिना हेल्मेट । स्कूलमा बच्चाहरुलाई सडक नियम पालन गर्न खुब सिकाइन्छ, तर जब उसको बाबु बिना हेल्मेट उसलाई स्कूल पुर्याउंछन् तब उसलाई बाल मतलब सडक नियमको । उनै जो बच्चाहरु हिंडेर स्कूल जान्छन, उनीहरुका आमाहरु जब उनीहरुलाई बीच बाटोबाट बाटो कटाउंछन, तब हिजो पढेको जेब्रा क्रसिङ्गको महत्त्वको धज्जी उड्छ । एकदिन कक्षाकोठामा गफैगफको सुरमा एकजना साथीले भने, नेपालमा सडक नियम पालना गर्न सडक नै राम्रो छैन । पहिला त सुन्दा अलिक रिस पनि उठ्यो, त्यसपछि उनलाई इन्टरनेटमा इन्डियाको मेघालयको एउटा तस्विर देखाएं, त्यसपछि उसको अनुहार नीलोकालो भईहाल्यो । त्यो तस्विरमा झन्डै ५०० मिटर लामो जाम थियो तर एउटा पनि बाइक, लेन तोडेर अगाडि गएका थिएनन् बरु जाम खुल्ने प्रतिक्षा गरेर बसेका थिए । मेरो साथिले उत्तर पाइहाले, बाटो राम्रो भन्दा पनि आफू संयमित हुंदा सडक संचालनमा मद्धत पुग्दछ । कुनै पनि टोल वा चोकमा केहि दिन फोहोर उठेन भने ती चोकहरु दुर्गन्धले गर्दा हिंड्न समेत नसकिने हुन्छ, त्यस्तै फोहोरको एक पोको त्यो डुङ्गुरमा फाल्दै नाक खुम्च्याउंदै भन्नुहुन्छ, यो फोहोर नउठाएर पनि वातावरण पुरै दुर्ग्न्धित बनाइसके । फोहोर नउठेको देखेपछि केहि दिन घरमै राख्दा के फरक पर्छ र । अझ भनुम कुहिने फोहोरहरुको त घरायसी व्यवस्थापन गरे राम्रो । यहि देख्दा देख्दै ती अभिभावकका स–साना नानी बाबुहरुले त्यहि पथमा अघि बढ्न सिक्छन् । फोहोर व्यबस्थापनकै अर्को पाटो, “फोहोर मलाई” मा फोहोर फाल्न बानी परेका विद्धयार्थीहरु, स्कूल र कलेजका गेटबाट निक्लने बित्तिक्कै आफूलाई खुल्ला ठान्छन् । जताततै फोहोर फाल्दै हिंड्छन् । जाबो एउटा चकलेटको खोल भारी हुन्छ, बोकेर हिड्न । बगलीको आइफोन र ग्याजेटको गफ गरेपछि बसको झ्यालबाट चकलेट र चुइगमका खोल सडकमा फाल्दा सबैभन्दा महत्वपूर्ण विषयमा फेल हुन्छौ हामी, नैतिक शिक्षा । नेपालीको सबैभन्दा निपुणताको विषय हो, समय । बोल्दा तीन चौथाई अङ्ग्रेजी मिसाएर आफूलाई आधुनिक युगको व्यक्ति देखाउन खोज्ने तर समयको कदर भने फिटिक्कै नभएको देख्दा लाग्छ, जसलाई आफ्नो र अर्काको समयको मतलब छैन, त्यस्तो मान्छेले आधुनिकताको ढोंग नगरेकै राम्रो । आजको दिनमा नेपालीलाई चाहिएको उच्चतम शिक्षा भन्दा पनि नैतिक शिक्षा हो । साथसाथै समयको उच्चतम सदुपयोग र महत्व बुझिदिने हो भने सकारात्मक सन्देश अवश्य प्रबाह हुन्छ । म आफैं पनि यहि समाजको उपज हुं, म मा पनि धेरै दुर्गुणहरु छन् । तर सबैले ती दुर्गुणहरुलाई त्यागेर सहि प्रयासहरु गर्दै जाने हो भने समाजमा र देशमा सकारात्मकता अवश्य आउंछ । यी तमाम बहानाहरु त्यागेमा परिवर्तन अवश्य संभव छ ।
यि माथिका वाक्यहरु त केबल केहि उदाहरण मात्रै हुन् बहानाका आफ्ना कमजोरीहरु लुकाउने । तर आफुलाई खुब आधुनिक ठान्ने हामीहरु यस्ता सोचबाट अझै माथि उठ्न सकेका छैनौ ।