×
Sign Up Support

Member Login

Forgot password?
समाज

विद्यालय निर्माण निर्धारित समय अगावै सम्पन्न

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 5 YEARS AGO 695 views
Society

काठमाडौँ, असार २४ गते । भूकम्पका कारण आंशिक वा पूर्ण क्षति भएका काठमाडौँ उपत्यकाका सामुदायिक विद्यालयका कतिपय भवन निर्माण कार्य निर्धारित समय अगावै सम्पन्न भएका छन् ।


भूकम्पका कारण क्षति पुगेका विद्यालयहरु कतिपय दातृ निकायको सहयोगमा निर्माण भइरहेका छन् भने कतिपय विद्यालय व्यवस्थापन समितिले र कतिपय गैरसरकारी सङ्घ सस्थाको सहयोगमा निर्माण भइरहेका छन् ।


एसियाली विकास बैङ्कको सहयोगमा निर्माण भइरहेको काठमाडौँ त्रिपुरेश्वरको विश्व निकेतन माविको भवन समय अगावै सम्पन्न हुने स्थितिमा पुुगेको छ । जुद्धशम्शेरको पालामा बनेको २६ कोठे भवन भूकम्पका कारण क्षतिग्रस्त भएपछि हाल २४ कोठाको नयाँ भवन बनिरहेको छ । यसै वर्षको चैतसम्म सम्पन्न हुने सम्झौता भए पनि मङ्सिर अगावै भवन पूर्णरुपमा निर्माण भइसक्ने प्रधानाध्यापक हेरम्बराज कँडेलले बताउनुभयो । भूकम्पपछि विद्यालयमा विद्यार्थीको चाप अझै बढेको उहाँले बताउनुभयो । हाल उक्त विद्यालयमा दुई हजार छ सय विद्यार्थी अध्ययनरत छन् ।


त्यस्तै कीर्तिपुर ५ स्थित जनसेवा माविको भवन निर्माणको काम पनि सम्पन्न हुने चरणमा पुगेको छ । नमूना विद्यालयक बनाउने भनेर सरकारी छनोट भएको उक्त विद्यालयमा आठ कोठाको भवन र विद्यार्थीको लागि आवास गृह पनि निर्माण भइरहेको छ । विद्यालयको लागि भोजनगृह र अडिटोरियम हल निर्माण गर्न बाँकी भएको प्रधानाध्यापक नन्दकुमारी महर्जनले जानकारी दिनुभयो । विद्यालयको नयाँ भवन निर्माण हुन थाले पनि विद्यालयमा विद्यार्थीको चाप अधिक बढेको उहाँको भनाइ छ । २०७२ सालमा २३५ विद्यार्थी भएको विद्यालयमा अहिले एक हजार चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।


काठमाडौँकै सारदा माविको आठकोठे भवन पनि समय अगावै सम्पन्न भएको छ । सम्बन्धित निकायको निरन्त अनुगमन, आवश्यक मात्रामा बजेटको उपलब्धता र व्यवस्थापन समितिको सकारात्मक सहयोग भएमा निकै छिटो काम हुनसक्दो रहेछ प्रधानाध्यापक ठाकुर सिग्देल भन्नुहुन्छ ।


ललितपुरको बागमती गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेको विद्यार्थीश्वरी माविको भवन पनि जापान अन्तर्राष्ट्रि«य सहयोग नियोग ९जाइका०को सहयोगमा निर्माण सम्पन्न भएको छ ।

काठमाडौँका कोर क्षेत्रमा रहेका कतिपय विद्यालयहरुमा मापदण्ड अनुसारको जग्गा नभएकोले केही अन्योल बढेको जिल्ला आयोजना कार्यान्वयन इकाईका संयोजक गणेश ढकाल बताउनुहुन्छ । त्यस्ता विद्यालयका लागि भवनको डिजाइन परिवर्तन गर्नुपर्ने वा मापदण्डमा केही लचिलो बन्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । करिब २० वटा विद्यालय रहने कि नरहने भन्ने विषयमा र रहने भए ती विद्यालयका लागि आवश्यक जग्गा उपलब्ध गराइदिन महानगरपालिकालाई पत्राचार गरिरहेको पनि उहाँले बताउनुभयो । पर्ति जग्गा वा निजी गुठीमा रहेका विद्यालयमा यस्ता समस्या देखिएको उहाँको भनाइ छ ।



भक्तपुरमा क्षति भएका मध्ये ९० प्रतिशतमा निर्माणको काम धमाधम भइरहेको भए पनि दरबार स्क्वायर क्षेत्रमा नै पर्ने तीन ठूला विद्यालयहरुका भवन भने निर्माणको काम अगाडि बढाउन सकेको छैन । भक्तपुरका श्री पद्यमा, सारदा र विद्यार्थी निकेत माविका प्रक्रिया अगाडि बढ्न नसकेको जिल्ला परियोजना कार्यान्वयन इकाईका संयोजक उदय बरालले बताउनुभयो । उहाँका अनुसार ती विद्यालयको नक्सा भक्तपुर नगरपालिकाले स्वीकृत नगरिदिँदा काम अगाडि बढ्न सकेको छैन । सारदा माविले स्थानान्तरण हुन खोजे पनि नगरपालिकाले जग्गा उपलब्ध गराउन सकेको छैन ।


उपत्यकाका कोर क्षेत्रमा रहेका विद्यालय निर्माणमा भने समस्या देखिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका निर्देशक इमनारायण श्रेष्ठले बताउनुभयो । कुनै विद्यालय गुठीको जग्गामा रहेको, कुनै मठमन्दिरको परिसरमा रहेकाले त्यस्ता विद्यालयको पुनःनिर्माण गर्न नयाँ मापदण्ड अनुसार कठिन भएको उहाँको भनाइ छ । उहाँ आगामी वर्षदेखि विश्व बैङ्कको सहयोगमा नेपालभरका सम्पूर्ण विद्यालयहरुको भौतिक अवस्थाको बारेमा डाटाबेस तयार गर्ने तयारी भइरहेको पनि बताउनुभयो । विगतमा पनि विभिन्न विद्यालय भवन प्रबलीकरण गरिएकाले भूकम्पका समयमा पनि त्यस्ता भवनहरु क्षति हुनबाट जोगिएको उहाँको भनाइ थियो ।


त्यस्तै उपनिर्देशक दीलिप शेखर श्रेष्ठले भूकम्प प्रभावित ३१ जिल्लामा ३०० भन्दा बढी इन्जिनियर तथा सब इन्जिनियर खटाइएको बताउुनभयो । उहाँले दुई वर्षमा आधा भन्दा बढी विद्यालय निर्माण भइसकेको र अगामी दुई वर्षमा भूकम्पका कारण क्षति भएका सम्पूर्ण विद्यालय बनिसक्ने विश्वास पनि ब्यक्त गर्नुभयो ।


स्रोत : राधा चालिसे, गोरखापत्र अनलाईन