×
Sign Up Support

Member Login

Forgot password?
आर्थिक

संस्कृति , संस्कार र अर्थ

Narayan Mourya
Narayan Mourya 2 YEARS AGO 1180 views
Economics Www.nepaltraveladventure.com

बेला बेला मा चल्ने धार्मिक समुदाय , जात्रा आयोजक एवं गुठी  र सरकारबीचको विवाद र त्यो विवादबाट उत्पन्न भएको तरंगले नेपालको राज्यव्यवस्था र सिंगो अर्थतन्त्रमै यहाँको परम्परागत र सांस्कृतिक तत्वहरुको विद्यमान भूमिका र प्रभावलाई उजागर गरिरहेको हुन्छ  । 

 

कुनै पनि राष्ट्रको आर्थिक , राजनैतिक र सामाजिक भविष्य त्यो राष्ट्रका जनताहरुमा निहित संस्कार र संस्कृति बाट उल्लेख्य रुपमा प्रभावित भएको हुन्छ । राष्ट्रका जनताको आचरण, वैचारिक क्षमता र अन्तत: आर्थिक-सामाजिक विकास गर्न सक्ने सामर्थ्य उनीहरुको डि. एन. ए मा बसेको संस्कार र आचरणले ठुलो हद सम्म  निर्धारण  गर्दछ । 

 

सन् १८१४ को ब्रिटिश - नेपाल युद्ध पश्चात गरिएको सन् १८१५ को सुगौली सन्धिसंगै नेपाल मा एउटा नयाँ  परम्पराको उदय भएको थियो । युद्धमा देखिएको नेपालीहरुको बहादुरीको  प्रदर्शनबाट प्रभावित ब्रिटिशहरुले तत्पश्चात एउटा गोर्खा पल्टन सुरु गरेर त्यसलाई ब्रिटिश सेनामा सामिल गर्ने निधो गरे । जसको लागि नेपाली युवाहरुलाई  ब्रिटिश-गोर्खा सेनामा भर्ति गर्ने व्यवस्था भयो । नेपाली युवाहरु भर्ति हुनको लागि तत्कालिन ब्रिटिश उपनिवेश तर हाल पाकिस्तान मा पर्ने 'लाहोर' जान्थे , र त्यी भर्ति हुन गएका युवाहरुलाई लाहोरे , लाहोरे भन्दा भन्दै लाहुरे भन्ने शब्द प्रत्युत्पादन भयो र बिस्तारै 'लाहुर र लाहुरे' नेपाली समाज को एक हिस्सा बन्न पुग्यो । कारण , स्वरुप र गन्तव्य फरक फरक होलान् , तर दुई  शताब्दिपछिको नेपालमा पनि निधारमा टिका लगाएर र गलामा खादा भिरेर लाहुरिने वा  विदेशिनेहरुको  संख्या दिनानुदिन बढ्दै छ । यो नेपालको एउटा संस्कृति भईसक्यो, बाबुआमाले छोराछोरीलाई  दिने आशिर्वाद भईसक्यो र सिंगो राष्ट्रको अर्थतन्त्रकै अभिन्न अंग भईसक्यो । 

 

घर सम्हाल्न बुहारी आइन्  भने खेतमा रोपाइँ गर्न सहज हुन्छ भन्ने हेतु बसेको असारे बिहेको चलन होस् वा फसल काटेपछि विश्राम र उल्लास को अवसर पारेर मनाइने दशैँ जस्तो पर्व होस् , महोत्सवका समयमा जुन हिसाबले आर्थिक र व्यापारिक गतिविधि तातिएको हुन्छ , त्यसबाट यो प्रष्ट हुन्छ कि  नेपालको आर्थिक गतिबिधिमा यहाँ को संस्कृतिले उल्लेख्य प्रभाव पारेको हुन्छ । 

 

तस्विर: केशव अधिकारी

 

नेपाली संस्कृति को एउटा सकारात्मक पक्ष हो प्रकृतिसंगको सहिष्णुता, सायद त्यहि सहिष्णुता ले गर्दा होला , वन ऐन सन् १९९३ अन्तर्गत जब सामुदायिक वनको धारणा लागु गरियो , समुदाएका व्यक्तिहरुको रेखदेख पश्चात नेपाल आफ्नो  चालिस प्रतिशतसम्म को वन्यभुमि सुनिश्चित गर्न सफल भयो । 

 

संस्कृतिको प्रभाव अविकसित र सानो मुलुक को रुढिवादी समुदायहरुमा मात्र व्याप्त हुन्छ भन्ने पनि जरुरि छैन । भौतिक र बौद्धिक रुपमा सम्पन्न अमेरिका जस्तो देशलाई पनि अठारौ शताब्दि देखि उसको संस्कृतिमा   जरो गाडेको बन्दुक र त्यसको ब्यापार ले  गर्दा हाल उत्पन्न भैरहेको सामाजिक समस्याहरु संग जुझ्न हम्मे हम्मे परिरहेको छ । त्यसैले विश्व को हरेक कुनामा त्यहाँ  चलि आएको संस्कृतिले त्यहाँको आर्थिक -सामाजिक व्यवस्थामा पद छाप छाडेको हुन्छ । 

 

अझ वैश्वीकरण अर्थात ग्लोवलाइजेसन को यो समयमा एउटा देशको संस्कृतिले अर्को देशमा पनि प्रवेश गरेको प्रसस्तै उदाहरणहरु भेटिन्छन ।  भ्यालेन्टाइन्स डे र इस्वी न्यु इयर मा मौलाएको  नेपाली बजार देखेर बाह्य  संस्कृतिले पनि  पंख फैलाउदै गरेको अनुमान लाउन सकिन्छ ।  

 

पारिभाषिक    रुपमा  भन्नु  पर्दा , संस्कृति  भनेको   समाज   मा  एक  व्यक्ति  बाट  अर्को  मा  संचार  हुने  मानव  ब्यबहार  को  स्वरूप  हो  जसमा  सोच , भाषा , क्रियाकलाप ,कला र  संस्थागत    मूल्य  र  मान्यता   समाविस्ट   हुन्छन्   ।   आज हामीले कुन संस्कारको विजन र विकास गर्छौं भन्ने तथ्यले देशको कालान्तरको  आर्थिक-सामाजिक भविष्यको रेखाचित्रण गर्ने भएकोले समाज र राष्ट्रका हरेक सरोकारवालाहरुले त्यसप्रति ध्यान दिनु जरुरि छ । 

 
नारायण मौर्य ,
एम. ए अर्थशास्त्र, त्रिभुवन विश्वविद्यालय
Twitter: @naryan_mourya

 

Thank You: Global Holiday Adventure Pvt. Ltd. for beautiful Image! 

समान सामग्रीहरु