×
Sign Up Support

Member Login

Forgot password?
विज्ञान

जलवायु परिवर्तन सिन्धु घाँटी सभ्यताको पतनको कारक !

Deepes Moorti Pant
Deepes Moorti Pant 2 YEARS AGO 825 views
Science Wikipedia

सिन्धु उपत्यकाको सभ्यता (Indus Valley Civilization) एक शानदार कास्य युग (Bronze Age) को सभ्यता थियो । यसका प्रमुख स्थानहरू हरप्पा (Harappa), मोहन जोदडो (Mohenjo-daro), धोलाविरा (Dholavira), गनेरिवाला (Ganeriwala), राखिगढी (Rakhigarhi) पर्छन् । आजभन्दा ४६०० देखि ३९०० (ई पु २६०० देखि १९००) सम्म वर्ष अगाडिको समयमा यो आफ्नो चरम विकासमा थियो । अहिलेको उत्खननबाट के देखिन्छ भने मोहन जोदडो र हरप्पा साठी हजार भन्दा बढी जनसंख्या रहेका, पानी, कुवा, ढल निकासको व्यवस्था भएका धेरै व्यवस्थित महनगरहरु थिए । तर यो ३३०० वर्ष (ई पु १३००) अघि तिरबाट पतन हुन शुरू भयो । यसका धेरै कारणहरू अनुमानहरु अहिले पनि अनुसन्धानको क्रममा छन् । ती मध्ये एक अनुमान जलवायु परिवर्तनलाई पनि मानिन्छ । Chaos: An Interdisciplinary Journal of Nonlinear Science भन्ने शोधपत्रिकामा प्रस्तुत गरिएको शोधले जलवायु परिवर्तनको नै त्यसको पतनको कारण थियो भन्ने पक्षमा गणितीय प्रमाण दिएको छ ।

 

गणित वैज्ञानिक निशान्त मलिक (Rochester Institute of Technology) ले सो शोधमा मनसुन मौसममा आएको परिवर्तन (Shift in Monsoon season) र खडेरीले सो शानदार सभ्यताको पतनको शुरुवात हो भन्ने यथेष्ट गणितीय तथ्यहरु प्रस्तुत गरेका छन् ।

 

गुफाहरुका छत बाट पानी चुहिँदा खनिजहरूको एक संरचना बन्छ त्यसलाई भुइँमा बनेको संरचनालाई Stalagmite भनिन्छ भने छतमा झुन्डिए जसरी बनेकोलाई Stalactite भनिन्छ । हाम्रा गुफा हरुमा पनि त्यस्तो संरचनाहरु हुन्छन् जसलाई हामी गाईको थुन र शिवलिङ्ग तथा अन्य देवीदेवताको रूप भन्दै पूजा गर्छौं । ती संरचनाहरु हजारौं वर्षको समयमा बनेका हुन्छन् र बिस्तारै बढ्दै गइरहेका पनि हुन्छन् । त्यहाँ भएका खनिज तत्वका निश्चित आइसोटप (Isotopes) हरुलाई विश्लेषण गर्ने हो भने हामीले हजारौँ वर्षदेखि त्यो क्षेत्रमा भइरहेको वर्षातको स्तर पत्ता लगाउन सक्छौं । वैज्ञानिकहरूले त्यही Stalagmite को अध्ययनबाट सो क्षेत्रमा ५७०० वर्षदेखिको वर्षातको स्तरलाई आँकलन गर्न सक्षम भएका छन् । त्यही क्षेत्रमा रहेका गुफाहरुका तिनै संरचनाको अध्ययन गर्दै मलिकले गणितीय विश्लेषणबाट त्यो क्षेत्रको मनसुनी अवस्थाको आँकलन गर्न सफल भएका छन् ।

 

मलिकले आफ्नो शोधमा त्यो क्षेत्रमा भएको सो सभ्यताको उदय, विकास र पतनको समय अवधीहरुमा रहेको उल्लेख्य मनसुनी मौसमको परिवर्तनको तथ्यहरु विश्लेषण गर्दा एक निश्चित स्वरूप पत्ता लगाएका छन् । जस्तो कि यस सभ्यताको उत्थान र पतनको अवधिमा मनसूनको निश्चित Pattern स्पष्ट देखिन्छ । यस सभ्यताको पतनको बेला मनसुन पनि नियमित रुपमा Reverse Shift भएको थियो ।

 

शोधकर्ता मलिक भन्छन, प्राय "Paleoclimatic* तथ्यहरूलाई विश्लेषण प्राप्त हुने तथ्यहरु छोटो अवधिका साथै अनिश्चितता र स्पष्ट हुँदैनन् । तर यसैलाई गणितीय मोडलिङ्ग को सहायताले पर्यावरणीय र यसको लामो अवधिमा हुने परिवर्तनशिलता समेत बढी सटीक ढङ्गले विश्लेषण गर्न सक्छौं जबकि यही कुरा Paleoclimatic विश्लेषणमा भने प्राय कठिन हुन्छ। त्यसैले गणितीय विधिबाट गरिने तथ्य विश्लेषणले नियमित समयक्रममा वातावरणमा आएको परिवर्तनहरू चाहे त्यो छोटो अवधिको होस् या लामो अवधिको, धेरै स्पष्ट र सटीक रुपमा आँकलन गर्न सकिन्छ ।

 

(*Paleoclimatology: ढुङ्गाहरू, हिउँका पत्रहरु, रुखका विशेषगरी फेदका भित्री पत्रहरुको, गुफाहरुमा थुप्रिएका खनिज आदिको विश्लेषण गरेर हजारौँ वर्ष अघि पृथ्वीको वातावरण कस्तो थियो भनेर अध्ययन गर्ने विधि हो।)

 

मालिक यहाँ कसरी वातावरणीय व्यवस्थाको गतिशील परिवर्तन भएको छ र ती दुर्लभ परिवर्तनहरू एक्कासी कसरी नियमित हुन पुगे भन्ने कुरामा बढी केन्द्रित छन् ।

 

ती तथ्यहरूलाई गणितीय मोडलिङ्ग गरेर अल्गोरिदमको सहायताले मलिकले त्यतिबेलाको वातावरणीय परिवर्तन र मनसुनको सराइलाई स्पष्ट रुपमा सिन्धु उपत्यकाको उत्थान र पतन दुवैमा तुलना गर्दा यो मेल खान्छ।

 

सिन्धु उपत्यकाको पतनको कारणहरुमा युद्ध, भूकम्प, व्यापारको स्थितिको परिवर्तन आदिलाई अनुमान गरिए पनि अहिलेको अनुसन्धानले यसको पतनको कारण जलवायु परिवर्तनलाई बलियो सँग उभ्याएको छ । मनसुन पछि पछि सर्दै जानु नै सिन्धु उपत्यकाको पतनको मुख्य कारण हुने सम्भावना प्रवल हुँदै गएको छ । यसैले गर्दा सिन्धु उपत्यकाका मानिसहरू बाध्य भएर त्यस ठाउँको परित्याग गर्दै अन्य स्थानमा बसाइँसराइ गरेको हुनुपर्छ । 

 

अहिलेका धेरै अनुसन्धानले रेशम मार्गमा रहेका धेरै शानदार सभ्यताहरू जुन एक समय अवधिमा धेरै समृद्ध र शक्तिशाली अवस्थामा पुगेका थिए, तिनीहरूको एकाएक पतन पनि युद्ध, व्यापारको अवस्थाको परिवर्तन भन्दा पनि जलवायु परिवर्तनको अवस्था थिए भन्ने कुरा देखाउँछन् । ती परिकल्पनालाई पनि मलिकको यो शोधले बल पुग्छ ।

 

हाल विश्वले भोग्नु परेको सबै भन्दा डरलाग्दो अवस्था पनि यही जलवायु परिवर्तनकै समस्या हो । अहिले पनि विभिन्न स्थानहरूमा भएका मानिसका बसाइँसराइहरु यसैको कारणले भएको स्पष्ट देख्न सक्छौं । त्यसैले जलवायु परिवर्तनले आजमात्र होइन इतिहासका विभिन्न काल खण्डका सभ्यताको उत्थान र पतन दुवैमा मुख्य भूमिका खेलेको छ। त्यसैले यसलाई गम्भीर रुपमा लिनु अबको मुख्य आवश्यकता हो । 

 

अहिले पनि विश्वका कतिपय राजनैतिक नेतृत्व जस्तो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति बोल्सानारो, भारतीय प्रधानमन्त्री मोदी आदि जलवायु परिवर्तनलाई अझै अस्वीकार गर्दै आइरहेका छन्। त्यो उनीहरूको राजनैतिक स्वार्थको कारणले गर्दा हो । अब हामीले उनीहरुलाई होइन विज्ञानलाई सुन्नु पर्ने आवश्यकता छ ।