×
Sign Up Support

Member Login

Forgot password?
विचार

लक्ष्य साध्य हो, पैसा साधन मात्र

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 3 YEARS AGO 1989 views
Perception Photo By Designecologist From Pexels

प्रसंग

केहि दिन अघि एक जना भाई केहि जिज्ञासा लिई मलाई भेट्न आएका थिए । आम्दानीका लागि एउटा अनलाईन काम गर्ने इच्छा राखेका रहेछन् ति भाईले । उक्त काम गर्नका लागि उनलाई उनका केहि आफन्तले सुझाएका रहेछन् । एक हप्तामा १२ देखि २४ घण्टा काम गरेपछि हरेक २ हप्तामा लगभग २ हजार रुपैंया आम्दानी हुने रहेछ । मेकानिकल इन्जिनियरिङका विधार्थी, यि भाई एक कुशल चित्रकार समेत हुन् । उनका धेरै पेन्टिङहरु पहिले पनि विक्री भईसकेका छन् । पेन्टिङमा मात्रै ध्यान दिए पनि यि भाईले राम्रै आम्दानी गर्न सक्ने कुरामा म ढुक्क छु तर बेच्नका लागि केहि कोशिश भने पक्कै गर्नुपर्ला ।

 

आशय

आफ्ना सपना र रहरको पछि निष्ठापुर्वक लागि त्यसैलाई आम्दानीको स्रोत बनाउन निकै कठिन हुन्छ । त्यसका लागि अथक मेहनत र धैर्यता अपरिहार्य हुन्छ । तर, यो मात्र एक त्यस्तो उपाय हो जसले जीवनमा इच्छाएको सफलता तर्फ डोर्याउन सक्दछ । यस्ता बहुसंख्यक परिश्रमी र सफल जीवनहरुका कारण मात्र एउटा आदर्शवान समाजको कल्पना गर्न सकिन्छ जसले एउटा सवल राष्ट्र निर्माणको जग खडा गर्न सक्दछ । क्षणिक आम्दानी वा आम्दानीका लागि अपनाइने छोटकरी बाटाहरु हाम्रा वरपर अहिलेको समयमा धेरै नै छन् । तर के यस्ता कामहरुले हामीले कल्पना गरेको जस्तो सुन्दर र सभ्य समाज निर्माणमा सहयोग गर्न सक्लान ? हामी जस्तो विकाशशिल राष्ट्रका नागरिकहरुले त यस्ता कुरामा झनै विचार पुर्याउन पर्दछ ।


प्रसंग

साउथ अफ्रिकाबाट आफ्नो सपनाको खोजीमा अमेरिका पुगेका इलन मस्कले संसारमा खोज र आविष्कारलाई पुर्नजार्गित गराएका छन् । एक्स डट कम जस्तो कम्पनीबाट उनले अरबौ कमाइसकेका थिए । एक्स डटकमनै हालको पेपालको सुरुवती नाम हो । आफ्ना सबै आम्दानीहरु, भएको सबै पुंजी तथा आफ्ना नीजि जीवनका सबै सुखहरु त्याग गरी उनले स्पेस एक्सको सुरुवात गरे र त्यसपछि टेस्लामा लगानी गरे । यि दुवै कम्पनीले संसारलाई एउटा नया आशा प्रदान गरेका छन् मानवताको संरक्षण र दिगो विकासका लागि । तर यि कम्पनीलाई यस अवस्थामा ल्याउन इलन मस्कको आफ्ना सोच, कल्पना र योजनाहरुप्रतिको दृढ विश्वास, अथक मेहनत र अडान जरुरी थिए । नासाले प्रदान गरेको पहिलो पेमेन्टमा उनी आफ्ना भाईका अगाडि रोएका थिए । त्यो पेमेन्ट प्राप्त गर्नु अघि उनी सरसापट गरेर निर्वाह गर्दै थिए । उनले गरेका यि सारा परिश्रम कुनै उद्देश्यका लागि निर्देशित थिए र उनको त्यो उद्देश्य प्राप्त हुंदा सिंगो संसार फेरि एउटा सुन्दर आशा तर्फ डोरिएको छ ।


फेसबुकका सुरुवाती इन्जिनियरहरु मध्येका एक जेफ ह्यामरब्याखरले भनेको थिए, “The best minds of my generation are thinking about how to make people click ads. That sucks." अर्थात “मेरा युगका सबैभन्दा उत्कृष्ट चिन्तकहरु मनिसलाई कसरी आफ्ना विज्ञापनहरुमा क्लिक गराउने भन्ने सोचिरहेका छन् र यो निकै दिक्दारी तथ्य हो” ।


तर इलन मस्कका कम्पनीहरु स्पेस एक्स, टेस्ला र सोलार सिटीले संसार तथा सीर्जनशील युवाहरुमा एउटा नंया आशाको संचार गरेको छ ।


आशय

यि सारा प्रसंगहरु यहा उल्लेख गर्नुको उद्देश्य सपना र पैसाको बिचको फरकलाई प्रस्ट पार्नु हो । इलन मस्कको बारेमा सुन्दा मात्र पनि हामीमा अर्कै उर्जाको संचार भएको महसुस गर्छौ र त्यस्तै केहि गर्न पाए हुन्थ्यो भन्ने मनमा उमंगहरु पैदा हुन्छन् ।


जब उडानका लागि भरिएका सोचहरुलाई बाध्यताको भारी बोकाउछौं तब सपनाहरु झन्झट बन्न पुग्छन् र जीवन उद्देश्य हीन निर्वाहमुखी बन्न पुग्दछ, आवश्यक्ताहरु झनै असिमित बन्छन् र पैसा सर्वोपरी बन्न पुग्दछ । उद्देश्यमुखी मानिसका आवश्यक्ताहरु सीमित हुन्छन् तर उसका त्याग अनुसार समाजले स्वतस्र्फुतरुपमा उसका सुविधाका लागि प्रदान गरिरहेको हुन्छ, यस्तो अवस्था ठुलै संर्घष पछि मात्र सीर्जना हुन्छ ।


महाकवि लक्ष्मी प्रसाद देवकोटाले प्रश्नोत्तर कवितामा उल्लेख गर्नुभएका पंक्तिहरुमध्येको “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” हामी सामान्य रुपमा प्रयोग गरिरहेका हुन्छौं र कहिले कांही सानालाई अर्ति दिइरहेका हुन्छौं । तर फेरि एकपटक प्रश्नोत्तर कविता पुरै पढौं । महाकविले पनि बताएका छन्, जगतमा सर्वौपरि त पसिना र विवेक नै रहेछ ।


प्रसंग

हामी बालबालिकाहरुलाई भविष्यमा के बन्ने भनेर सोधिरहेका हुन्छौं । साना हुन्जेल त ठिकै छ, जे भने नि हांसेर ख्याल ठट्टाको रुपमा लिन्छौं तर जब किशोर अवस्थामा पुगेकाहरुले आफ्ना अभिभावकहरुलाई आफ्ना इच्छाहरु सुनाउछन् र ति इच्छाहरु अभिभावकहरुले ति बालबालिकाहरुका लागि निर्धारण गरेको निर्वाहमुखी जीवनको उपायहरु भन्दा केहि फरक भएमा ति अभिभावकहरु भयभीत भई आक्रोश पोख्छन् । ति बालबालिकाहरुमाथि आफ्ना अभिभावकहरुको भरोसा र इच्छालाई तोडेको आरोप लाग्छ । ति कलिला बालबालिकाहरु जीवनमा एउटा उडान भर्न चहान्छन्, तिनिहरुमाथि अभिभावकहरुले भावनात्मक बोझ थोर्पछन् । मानौ उनीहरुको जीवन उनीहरुको अभिभावहरुको क्रृणि छ । ति आज्ञाकारी बन्छन् जसले आफ्ना सपनाहरुलाई मनभित्रै कुण्ठित बनाएर राख्छन् । बिद्रोहीहरु कि त आफ्ना अभिभावकहरुमाथि विजय प्राप्त गर्छन र कालान्तरमा तिनै विद्रोही र घमण्डीहरु आफ्ना अभिभावकका सान बन्न पुग्छन् । धेरै जसो आज्ञाकारीहरु कि त आफ्ना अभिभावकहरुसंग टाढिन पुग्छन् कि सुखका लागि अन्य मार्गहरुको खोजीमा लाग्छन् र एउटा निर्वाहमुखी जीवन बिताइरहेका हुन्छन् । कुण्ठित सपनाको पिडाबोध जीवनभर भईनै रहेको हुन्छ र उनीहरुले सामान्य रुपमा देखाउने तिक्तता पुर्ण व्यवहारमा उनीहरुको त्यही कुण्ठा लुकेको हुन्छ ।

 

यो पनि पढ्नुहोस

जिम्मेवार अभिभावकत्व: बालबालिकाको सुन्दर भविष्यको आधार

 

सामाजिक विकासको अवधारणा: सफल, सभ्य र असल राष्ट्र निर्माणको आधार

 


धेरै जसो अवस्थामा त किशोर अवस्था पुग्नु अघि नै धेरै बालबालिकाहरुका सपनालाई निर्मम तरिकाले मेटाइसकिएको हुन्छ । कुनै निडर र दृढ इच्छा भएको किशार / किशोरीले आफ्ना सपनाहरुका बारेमा कतै बयान गरे भने उनीहरुको मजाक उडाइन्छ र उनीहरुलाई हावा गफाडी भन्न समेत बांकि राखिदैन । नेपाली समाजमा आफ्ना सपनाका पछाडि लागेका धेरैलाई यस्तो अनुभव पक्कै भएको हुनुपर्दछ । आफ्ना सपना पुरा गर्न नसकेका अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुले पनि त्यस्तै नियती भोग्नुपर्ला भन्ने डर हुन्छ सायद । तर ति अभिभावकहरुले बुझ्न जरुरी कुरा के हो भने, के पैसाको पछाडी लाग्दा मात्र सुख र सन्तोष प्राप्त हुन्छ ?

 

यो भिडियो हेर्नुहोस

तपाइका लक्ष्य र सपना समाज परिवर्तनका सम्बाहक हुन् 

 


लामो समय सामन्ती व्यवस्था भोगेका हामीहरु आफ्ना बालबच्चाहरुसंग सामन्त जसरी नै व्यवहार गर्न अभ्यस्त छौं । याद राखौं परिवार भित्र जबसम्म गणतन्त्र आउदैन तबसम्म देशले प्राप्त गरेको गणतन्त्रले सोचेको जस्तो प्रतिफल दिन सक्दैन । जबसम्म हामी आफ्ना बालबालिकाहरुका नया जिज्ञासा र उनीहरुको स्वतन्त्र अभिव्यक्तिलाई स्विकार गर्न सक्दैनौ तबसम्म वास्तविक नया पुस्ताको प्रार्दुभाव हुन सक्दैन । हाम्रो समाजमा भएको सुस्त विकासको प्रमुख कारण पनि हामीले हाम्रा बालबालिकाहरुमाथि गरेको अनावश्यक नियन्त्रण नै हो । बालबालिकाहरुमाथि अभिभावकहरुको नियन्त्रण सुझबुझ पुर्ण हुनुपर्दछ र ति नियन्त्रणहरु कुनै पनि हालतमा हतोत्साही गराउने हुनुहुंदैन । एउटा मात्र सपना मर्नु भनेको पनि समाजका लागि निकै दुखद हो । कल्पना गरौं, निकोला टेस्ला, अल्बर्ट आइन्स्टाइन, लक्ष्मी प्रसाद देवकोटा, अहिलेका इलन मस्क जस्ता महान व्यक्तिहरुको महानता संसारले कालान्तरमा मात्र प्राप्त गर्यो र धन्य भयो, जन्मदै यि महान थिएनन्, यि मध्ये कुनै एक सपना पनि मरेको भय ?


सारांश

सपनाको पछि लाग्नेहरु र त्यसैबाट सुख र समृद्धि हासिल गरेकाहरु हाम्रो समाजमा थोरै छन् । सायद हामीले सपना देख्ने किशोर किशोरी हरुलाई गरेको व्यवहारकै कारण त यस्तो भएको होला । सायद यिनै काराणहरुले नै अवसरहरु पनि थोरै मात्र त छन् । सपना देख्ने र त्यसेको पछि दृढताका साथ लाग्नेहरुनै अत्यन्तै थोरै भएपछि अवसरहरु पनि त थोरै मात्र त हुन्छन् नि हैन र ? सपना देख्न जरुरी छ । सपना देख्नेहरुलाई प्रोत्साहन गरौं । पैसा साधन हो । साध्य होइन ।