स्वतन्त्रता: एक कल्पना मात्र
सायद धेरैलाई महशुस भएको कुरा हो, हामीलाई यो समाजले अँखामा पट्टी बाँधिदिएको छ । हामीलाई लाग्छ हामि स्वतन्त्र छौँ । कानुन सबैलाई बराबर हो । तर बिडम्बनाको कुरा कानुन माकुरोको जालो जस्तै हो झिनामसिनाहरु अड्किन्छन ठुलाहरु प्वाल पारेर निस्किन्छन । यो कुनै नयाँ कुरो हैन । स्वतन्त्रता पनि त्यस्तै हो, निश्चिति घेराबन्दी भित्र हामिले कसरी स्वतन्त्रताको कल्पना गर्न सक्छौं ? तर हैन हामी स्वतन्त्र छौ भन्ने भ्रममा छौँ । बोल्न पाउनु, आधीनाङ्गो हुनु, र जुलुस गर्नुलाइ मात्र हामी स्वतन्त्रता मान्ने गर्छौं । तर मानसिक स्वतन्त्रताको कुरा कतै सुन्दैनौ, सम्बन्धमा स्वतन्त्रताको कुरा कल्पना सम्म गर्न डराउछौ, दिमाग भित्र निहित सूचना, जानकारी भन्दा बाहिरको तथ्य स्विकार्न वा सत्य तथ्यको खोजी गर्न डराउछौ या कल्पना समेत गर्दैनौं किन त ? किनभने हामी पुर्ण स्वतन्त्र छैनौं । स्वतन्त्रताको परिभाषा सिमित गरिएको छ । ससाना बिश्वासमा हाम्रा सम्बन्धका स्वतन्त्रता अड्किएका छन् । हामी समाजका मान्यताहरुबाट परिचालित छौँ । हाम्रा सोच संकीर्ण छन् तर हामिलाइ लाग्छ हाम्रा सोच फराकिला छन्, छुट्टै छन् तर गहिरो विचार गर्ने हो भने हाम्रा सोच मृत छन्, पुरातन छन् , बासी छन् , हामी कम्पुटराइज्ड भएका छौं, हामी निर्देशित छौँ । हामी प्रभावित छौँ । हामी पल पल डराएका छौँ । म खुशी छु है भन्दै लड्डु बाड्नु पर्ने, सूचना दिनु पर्ने स्थितीमा छौं । हाम्रो खुशी हामिमा हैन अरुमा निहित छ । यसको अर्थ "हामी कति दुखित छौँ खुशी देखिन" यहीँ बाट प्रष्ट हुन्छ । हामी स्वतन्त्र छौँ खुशी देखिन तर खुशी हुन हैन । हामी हाम्रो मनको जालोमा जेलिएका छौँ । हाम्रो मन भावना को जालमा छ । भावना समाज बाटै लादिएका बिचारहरु बाट प्रभावित वा समाहित छन् । घुमिफिरी रुम्झाटार भनेझैं हामी उ जस्तै छौँ तर आफ्नो अस्तित्व खडा गर्न म छुट्टै हु भन्छौं । बिचारको बुझाइमा फरक परेर मात्र हामी हाम्रो छुट्टै अस्तित्व खडा गरिरहेका हौँ तर हामी न स्वतन्त्र छौँ न छुट्टै छौँ । मलाई लाग्छ स्वतन्त्रता सानो प्रयास र हल्का बुझाइले आउँदैन । स्वतन्त्रता न पैसाले दिने कुरा हो न सरकारले । यो समझबाट प्रस्फुटन हुने कुरा हो । मानिस यति धेरै चेतनशील भएर पनि स्वतन्त्र त छैन नै, बिडम्बनाको कुरा स्वतन्त्रताको वास्तविक अर्थ पनि खोज्ने चेस्टा गर्दैन ।
स्वतन्त्र माने मुक्ति, मुक्ति माने बन्धनरहित हुनु, तर धेरैलाइ बन्धन नै अज्ञात हुन सक्छ । जे जेले हामीलाई क्षणिक आनन्द दिन्छ ती सबै बन्धन हुन् । आनन्द र खुशीका लागि गर्नु पर्ने तमाम क्रियाकलाप स्वतन्त्रताका बाधक हुन्, । त्यसो त हाम्रा विधि बिधानले धेरै पटक धेरै समुदायलाई त स्वतन्त्र भइस भनेको छ के तिनले स्वतन्त्रता महसुस गरे होलान् ? कसैले बटम दबाउदैमा स्वतन्त्र हुने र नहुने हुन्न । यदि हुन्थ्यो भने मानिस अझै सम्म पनि स्वतन्त्रताको आवाज उठाएर रुदै हिड्नु पर्ने थिएन ।