उकुस मुकुस
![Ankur Chhipi Mourya](https://www.swadeshsandesh.com/uploads/users/Ankur Mourya-1547973106-Ankur Mourya.jpg)
![Literature](https://www.swadeshsandesh.com/uploads/articles/article-1586323050.jpeg)
दिंउसै अंध्यारो निस्पट्ट, अहो कस्तो उकुस मुकुस संधै कालो, संधै अंध्यारो यत्रतत्र डर र त्रास, अहो कस्तो उकुस मुकुस भिड्, लड्, मर् सकिंदैन सहन निरंकुश नियन्त्रण भयभित आक्रोस, फुटेको चुरा, आमाको अविरल आंसु, जिर्ण जिवन ...अहो कस्तो उकुस मुकुस दमित, दमनको चेला, दास मन भयो स्वतन्त्रताको रक्षक रक्सी, चुरोट, गांजा, भांग, धतुरोले गालेका, --- अंकुर मौर्य
शरिर कांपे थरथर, मुटु पोल्यो भत्भत्
चरि उड्छ भररर, गाई बोल्छ बां बां बां
यो मात्र गर्, त्यो नगर्, यो मात्र सोच्, त्यो नसोच्
डर, त्रास र दमन छ, शरिर भौतिक र त छ दमित
सोच, मन, कल्पना, आक्रोश, उन्माद कस्तो निडर
किन बरबराउछन् यि भावनाहरु... अहो कस्तो उकुस् मुकुस् ।
कुहिएको मनलाई लतार्छ पंहेलो ठिङरिङ्ग शरिर
टक्क अडिन्छ, ज्वाला फुट्छ, उम्लन्छ रगत लाल, लाल
उड्छ मन, उत्तेजित उन्माद, अस्तित्व हुन्छ द्रविभुत
कल्पनाको प्रियतमा, असिमित सोचकी जननी, ज्ञानको मार्ग
अहो कस्तो आत्मिय स्वतन्त्रता ।
साम, दाम, दण्ड, भेद, टुना मुना कसै गरी मान्दैन
स्वतन्त्रताको उन्मादमा लठ्ठिएको मेरो मस्तिष्क
बौलाउंछ, उफ्रन्छ, बर्साउछ कोर्रा, फुटाउंछ
नङ्ग्रा, पोल्छ छाला, च्यात्छ मुख, पड्काउंछ
गाला, उखेल्छ केश... अंह कसैगरी
सक्दैन, शरिर अलग मन अलग
स्वतन्त्रताको उन्मादमा लठ्ठिएको मेरो मन ।
थरथर कंपन्न, अतृप्त कल्पना, तिर्खाएको उन्माद
सग्लो, चुच्चो, थेप्चो, बाक्लो, कालो क्षतविक्षत डरलाग्दा रक्तिम अनुहार ...
बलिदानले हुर्काएको शैशव स्वतन्त्रता ...
अहो कस्तो स्वतन्त्र, स्वच्छ, पवित्र, धपक्क, उज्यालो
कलिलो, भर्खरैको, रहरलाग्दो स्वतन्त्रता
निमोठियो, निचोरियो ... रक्षक बने भक्षक
रोयो, कल्पियो पटक पटक
सायद आफ्नै थिए, त्यसैले त धोका भयो
तर
फेरि टक्क अडियो, हृवार हृवार बल्यो मुटु, उम्लियो रगत, लाल लाल
निडर, कल्पित, आक्रोशित, रक्तिम
तहस नहस पार्दै, धोकाका संपुर्ण द्धार बन्द गर्दै,
किशोर स्वतन्त्रता, शहिदको सन्तान,
हिंड्दैछ लमक लमक ...
अल्प बुद्धि, अति बुद्धिले पालेका,
जांगर हराएका, अनुत्तरदायी, भोगी अनि स्वतन्त्र सोचका विरोधी,
व्यवस्था, स्वतन्त्रता, गणतन्त्र नबुझेका न चिनेका,
न गर्ने, न भन्ने, फत्फताई मात्र रहने,
निरंकुशताको निस्पट्ट अंध्यारोको सकस महसुस गर्न नसकेका,
सोचको स्वतन्त्रताको प्रित नबुझेका,
झ्यापमै पनि यो चोर सरकार भन्न नभुलेका,
कसले र संविधानको कुन धाराले रोकेको छ, केपी, प्रचण्ड, गगन अनि कुलमान बन्न ?
व्यवस्थालाई व्यक्तित्व बुझेका, स्वतन्त्रतालाई घांडो देखेका र
शहिदलाई भुलेका...
तिनैले त फलाक्दा हुन् “राजा आउ देश बचाउ” ।।।