×
Saturday April 20, 2024
Sign Up Support

Member Login

Forgot password?
Society

सामाजिक विकासमा उपभोक्ता र उत्पादक बीचको सम्बन्धको प्रभाव

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 5 YEARS AGO 1059 views
Society Bikas Darai


उपभोक्ता र उत्पादक बीचको सम्बन्धको प्रकृति समाजको विकाससंग अन्योन्याश्रित हुन्छ । विकसित समाजमा यस्तो सम्बन्ध तुलनात्मक रुपमा बढी पारदर्शी र सुमधुर हुन्छ भने अल्पविकसित र विकासोन्मुख समाजमा यस्ता सम्बन्धहरु बदनियत र तनाव पुर्ण देखिन्छन् । नेपालमा पनि उपभोक्ता र उत्पादक बीचको सम्बन्ध तुलनात्मक रुपमा तनावपुर्ण नै पाईन्छ । दुवै पक्षहरुको अज्ञानता र सोचनै यसको लागि जिम्मेवार छन् । वास्तवमा कुनै पनि सेवा तथा वस्तु उत्पादनमा लाग्ने मानिसकोे जीविकोपार्जन तथा उसको आवश्यक उत्थान सोही सेवा तथा वस्तु उत्पादन बाट मात्र हुने गर्दछ । सो सेवा तथा वस्तुको गुणस्तर र सो व्यक्तिको जीवनको गुणस्तर समानुपातिक हुने गर्दछ । जुन उत्पादकले उपभोक्ताका लागि वस्तु तथा सेवा उत्पादन गरेको हुन्छ उसलाई पनि समाज सेविकै दृष्टिकोणले हेरिनु पर्दछ यदि उसको उत्पादन उपभोक्ताको आवश्यक्ताका लागि इमान्दार छन भने । कुनै पनि वस्तु तथा सेवा उत्पादन गर्दा कच्चा पदार्थ, मानिस र समयको आधारमा उत्पादनको मुल्य निर्धारण हुने गर्दछ तर सो वस्तु तथा सेवाको बिक्री मुल्य उत्पादनको मुल्य भन्दा बढि हुन्छ किनकी त्यसमा उत्पादकको सोच र सृजनाको Value जोडिएको हुन्छ । अब यो Value उत्पादनको गुणस्तर अनुसार फरक पर्दछ ।

 

यदि तपाई कुनै स्वादिलो र राम्रो खाना पाउने Restaurant मा जानुहुन्छ भने त्यहां पाइने खाना र सेवाको मुल्य तुलनात्मक रुपमा बढि हुन्छ किनकी त्यस Restaurant का निर्माता वा मालिकले त्यसमा आफनो सृजनाको Value पनि जोडेका हुन्छन् । आफनो Restaurant को स्तर लाई राम्रो बनाई राख्न ती मालिकले आफनो निजी जीवन र उनीसंग काम गर्ने Staff हरुको जिवनस्तर पनि राम्रो बनाई रहन आवश्यक छ तब मात्र सो स्तर कायम राख्न सबै प्रेरित हुनेछन् । अब उक्त Restaurant मा गएर त्यहांको खानाको उत्पादनको मुल्य (कच्चा पदार्थ, मानिस र समय) मात्र हिसाब गरेर यो Restaurant ले त ठग्दो रहेछ भन्न मिल्ला कि नमिल्ला आफै बिचार गर्नुहोला । बिचार गर्नु अघि यो सोच्न नबिर्सनु होला: राम्रो काम गर्न तपाई किन र कसरी प्रेरित हुनुहुन्छ ? हाम्रो यो जानकारीको अभावमा कतै हाम्रा राम्रा उत्पादकहरु संगको सम्बन्ध बिग्रेको छ कि ? सायद यहि कारणले नेपालमा राम्रा र जन उपयोगी सेवा तथा वस्तुको उप्पादन नभएको पो हो कि ? हाम्रो अर्थतन्त्र आयातमुखी यहि कारणले पो भएको हो कि ?


साढे एक लाख पर्ने आइफोन किन्न हामी सक्छौ र सो मुल्यलाई सहर्ष स्विकार गर्छौ तर आफनै वरपरको सेवा तथा वस्तु उत्पादकलाई प्राय ठगको नजरले हेर्छौ । घरघरमा तरकारी बेच्न आउने, जुत्ता बनाइदिन आउने ले ५ रुपैया बढि भन्दा हामीलाई अचम्म लाग्छ । हिसाब गर्नुस त एकचोटि, बाहिर गएर आउदा पेट्रोल, भाडा, समय पनि त खर्च हुन्छ । यो खर्च नै नगरी ति तरकारीवाला, फलफुलवाला र जुत्तावालाका कारण सामान घरसम्मै आईरहेका हुन्छन ।


गाडीका सहचालक जसलाई गाडी भित्र राम्ररी उभिने पनि ठांउ हुदैन उसलाई त मान्छे नै गनिदैन तरपनि उनीहरु सेवा दिइरहेका हुन्छन । हो कोहि कोहि रुखो बोल्छन । दिनभरि कसैले पनि राम्रो व्यवहार नगरि अपमान मात्र गरे मान्छे रुखो मात्र होइन अपराधी पनि बन्न सक्छ । केहि दिन अघिको कुरा हो नेपाल यातायात सार्वजनिक बस महाराजगंज अमेरिकन एम्बसी निर जसलाई चक्रपथ वारिको स्टप पनि भनिन्छ, त्यहां ट्राफिकका कारण गाडी रोक्न मिलेन । बस भित्रका केहि यात्रु बर्बाद भए जसरी चिच्याउन थाले, कसैकसैले पैसा नै नदिने भन्दै कराउन थाले र एक जना युवतीले सारै नराम्रो शब्दले गाली गरिन त्यस गाडीको सहचालकलाई । सारै माया लाग्यो, ट्राफिक नियम र आदेशलाई पालना गर्दा उनी त्यसरी प्रताडित हुन पुगे । एक जना पाका उमेरका मानिसले पिटनै खोज्दा उनको बचाउमा चालक ओर्ले र ति पाका मानिसलाई ट्रफिक प्रहरीकोमा सायद कुरा बुझाउन लग्न खोज्दै थिए तर पछि आवश्यक परेन । यदि ति यात्रु चढेको निजी गाडी वा मोटरबाईक त्यसरी रोक्न नदिएको भए त्यसरी नै आवेशमा आउथे ?


सेवा र वस्तुको गुणस्तर निर्माणमा जसरी उत्पादकको भुमिका महत्वपुर्ण हुन्छ त्यसै गरि उपभोक्ता पनि जिम्मेवार हुनुपर्दछ । तर उत्पादकको अग्रसरताले समाजलाई निर्देश पनि गर्नुपर्दछ । उत्पादकले यो बुझन आवश्यक छ कि जो उत्पादक आफनो ग्राहक प्रति इमान्दार र जवाफदेहि छ उसको मात्र सफलता निश्चित छ । आफना ग्राहकलाई भ्रममा राखेर व्यवसाय गर्नेहरुको व्यवसायको यात्रा निकै छोटो र जीवन कष्ट प्रदायक हुने गर्दछ । उपभोक्ताले पनि राम्रा उत्पादकको कदर गर्न सकेमा हाम्रो आफनै समाजमा हामीले चाहेको जस्तो सेवा र वस्तुको गुणस्तर निर्धारण गर्न सकिन्छ ।