×
Sign Up Support

Writer Login

Forgot password?
विचार

नेतामात्र होइन हामीपनी धनी छौं ।

Shiva P. Nepal
Shiva P. Nepal 10 MONTHS AGO
विचार Bikas Darai

आजभन्दा २५-३० बर्षअघिको र आजको हामीबीचको नेपालमा के भिन्नता छ ? एकैछिन सोचेर उत्तर दिने हो भने फरक धेरै कुरामा छ भन्न सकिन्छ । त्यसो भए, त्यो फरक सकारात्मक छ कि नकारात्मक र ? तपाईं जे भन्नुहुन्छ, सोच्नु हुन्छ वा अनुमान गर्नुहुन्छ त्यो सारभुत रुपमा तपाईंकै मानसिकताको उपज हो । वस्तु, व्यक्ति वा घटनाप्रति मानिसका अलग अलग धारणा हुन्छन, र त एउटा मान्छे कसैको नजरमा जीवनदाता बनिरहंदा अर्कोको नजरमा ठीक उल्टो देखिन्छ । यो आनी डोल्माको फूलको आँखामा फूलै संसार जस्तै हो । यस आलेखमा एकैछिन हामीले सकारात्मक सोचको बिकास गर्ने हो भने हाम्रा तमाम समस्या, निराशा, कुन्ठा, गुनाशा र अभावहरु आशा, भरोशा र उपलब्धीमा बदलिन्छन र सुखमय जीवनको सुरुवात हुन्छ भन्ने केही आशावादी दृष्टिकोण राख्न चाहन्छु ।

 

यहाँ म राजनेता वा राजनीतिक उपलव्धिका नबुझिने कुरा गर्न चाहन्न । किनकी आज हामी जहाँ छौं, त्यो कुनै राजनीतिक प्रणाली, बाद वा व्यवस्थाले पुर्याएको भनियो भने त्यो व्यवस्थाप्रतिको अपहेलना हुनसक्छ । प्रजातन्त्र, गणतन्त्र वा लोकतन्त्र सुन्दर शव्दहरु हुन । जसले जे भनेपनी यी शव्दहरु हाम्रा लागि कसरी निर्मम दुरुपयोग गरिए भुक्तभोगी नेपाली जनताले बुझेकै छन ।

 

गएका २५-३० बर्षमा जसरी देशमा राजनीतिक उथलपुथल भए त्यसैगरी आर्थिक उथलपुथल भैदिएको भए हामी विश्वमा अती बिकसित र सम्पन्न मुलुक लगभग एक दशक अघिनै बनीसक्ने थियौं भन्नेमा कुनै शंका छैन ।म यो हचुवाको भरमा भनिरहेको छैन । तपाईं तथ्यांक दाज्नुहोस ।  किनभने २०६५ सालसम्मको नेपालको बजेटको कुल आकार लगभग ३ खर्व नेपाली रुपैयाको थियो ।  जुन रकम २०४६ सालदेखि आजसम्म  नेपालमा गनेचुनेका राजनीतिक दल (एमाले, काङ्रेस, माओवादी, रा.प्र.पा, माले, मधेसवादी, नयाशक्ती, बिबेकशील वा जेसुकै) मा रहेका केन्द्रीय सदस्य तथा तिनका आसेपासे र शक्तिशाली पदाधिकारीहरु (कोही कोही बाहेक) को कुल सम्पत्तिभन्दा कमै होला।  ती लगभग १० हजार  जनाको २०४६ सम्मको आर्थिक अवस्था र हालको आर्थिक अवस्थाको तुलना गर्दा तुरुन्तै देशको राष्ट्रिय अर्थतन्त्र वा बिकासको अवस्थाको एउटा तस्विर सबैको दिमागमा आउछ । यिनै १० हजार जना र तिनका आसेपासेका अनुपातमा समग्र ३ करोड जनताको आर्थिक बिकास भैदिएको भए नेपालको अवस्था कहाँ पुग्ने थियो होला, कल्पना गरौं त । कम्तिमा सदरमुकाम वा राजधानीमा एउटा घर र एउटा सवारी साधनमात्रको हिसाव गर्दा एकजनाको केवल ३ करोड रुपैयांमात्र गणना गर्ने हो भने पनि १० हजार जनाको कुल सम्पत्ति ३ खर्व नेपाली रुपैया हुन्छ । यो रकम २०४६ देखि यता आजका मितिमा नेपालभित्रै बसेर नेपालका राजनीतिक दलका नेताले जनतालाई नदेखाइ कमाएको रकम हो । यसमा गुण्डा, ठेकेदार र कर्मचारीले पाउने भगवन्डाको हिसाव अलग्गै हुन्छ । यो सबै रकम बिकास निर्माणमा लाग्ने हो भने तीन करोड जनताले स्तरीय आरामदायी यातायात, सर्वशुलव स्वास्थ्य, शिक्षा र रोजगारी सजिलै उपयोग गर्न पाउने कुरामा शंकै छैन । कि त १० हजारले सुविधा त्याग्न सक्नु पर्यो, कि त २ करोड ९० लाखले ती सबैलाई सामाजिक बहिस्कार गर्नसक्नु पर्यो नत्र जे छ त्यो स्विकार्नु पर्यो । अन्य बिकल्प हामीसँग तत्काल छैन । त्यसैले धेरै गनगन र गुनासो गरेर निराशा बढाउनु पनि जरुरी छैन । यो तीतो सत्य हामीले स्विकार्नै पर्छ ।

 

जे भैसक्यो त्यसमा पछुताएर समय बर्बाद गरीबस्दा भविस्यसमेत बिग्रन सक्छ। यसो भन्दैगर्दा जे भयो त्यो राम्रै भयो भन्न खोजेको कदापी होइन । हामीले भएका उपलव्धिलाई स्विकार गर्नपनी जान्नु पर्छ । बस्तु तथा सेवा सीमित हुन्छन तर हाम्रा चाहना असीमित छन भन्ने सत्यलाई पनि स्विकार्नु पर्छ । हामी आफ्नै अवस्था हेरौ न । २०५६ सालसम्म हामीबीच सम्पर्क स्थापित गर्न परेमा कि त हुलाक या सदरमुकामतिरका ल्याण्ड्लाइन फोन हुन्थे भने आज हरेक व्यक्तिका हातहातमा सेलफोन छ । हरेक व्यक्ति विश्वको कुनैपनी कुनोमा सजिलै जोडीएको छ । इन्टर्नेट्को बिस्तारले नेपालका कुनाकाप्चा समेत विश्व गतिबिधिका प्रत्यक्ष साक्षी भएका छन । म क्यानडामा छु र पनि मेरी निरक्षर आमा मलाई प्रतेक दिन नुवाकोटको घरबाटै फोन गर्नुहुन्छ र भन्नुहुन्छ, छोरा, यताबाट मैले डेढ रुपैयामा तसँग १ मिनेट कुरा गर्न मिल्छ, तेरो महँगो डलर किन खर्चिन्छस रु म आँफै गर्छु तलाई । यसले के देखाउंछ ? नेपाल गरिव कि क्यानडा ? कि गरिवी हाम्रो सोच पो हो कि ?

 

आजभन्दा करिव १५ बर्षअघि म सम्झन्छु घरबाट ३ घण्टा लगातार धादिङको गल्छी पुगेपछिमात्र काठमाडौं जाने बस पाइन्थ्यो जसले लगभग डेढ घण्टामा काठमाडौं पुर्याउथ्यो । काठमाडौंसगै जोडीएको र भौगोलिक जटिलता पटक्कै नभएको मेरो नुवाकोटको चन्द्रेटारबाट अहिले पौने दुई घण्टामा काठमाडौं पुगिन्छ भने आजभन्दा १५ बर्षअघि १ दिन पुरै माया मार्नुपर्थ्यो काठमाडौं जानलाई । नेपालभर जनताले अहिले जेजति  सुविधा पाएका छौं त्यो उपलव्धी हो र त्यसलाई स्मरण गर्नुपर्छ । हामी पानीजहाज, रेल वा शुरुङमार्गको सपनामा हाम्रा उपलव्धी भुलेर भौतारिनु पनि दुखको एउटा कारण हो ।

 

१५ बर्ष अघिसम्म दूरदराजमा रेडियो नेपाल वा नेपाल टेलिभिजनमा जे समाचार बजाइन्थ्यो त्यो नै सुचनाको स्रोत मानिन्थ्यो भने आज हरेक अन्लाइन, ब्लग र च्यानलहरुका कारण हामी आँफै दिग्भ्रमित भएका छौं । जताततै सुचना र खवरदारी छ, सरकारी निकाय उत्तरदायी हुनैपर्ने बाध्यता छ । हाम्रा सामाजिक-आर्थिक अवस्था हेर्ने हो भने पनि धेरै बदलिएका छन । हाम्रा मानसिक अवस्था बदलिनु जरुरी छ । हामीलाई शंका लाग्नेबित्तिकै प्रश्न गर्न तयार हुनुपर्छ । हरेक प्रश्नका महत्व हुन्छन । नेता, सरकारी कर्मचारी वा तथाकथित ठूलाबडाले जे भन्छन त्यो मात्र सत्य नहुन पनि सक्छ भन्ने बुझाई भएको चेतनाको विकाससंगै भ्रस्ट नेताले घरको आंगन कुल्चिदिए त्यो माटो पवित्र हुन्थ्यो कि भन्ने सोचमा बिस्तार-बिस्तार सुधार आएको छ । काठमाडौं घुमेर फर्किएको लाहुरेले बर्णन गर्ने रानीपोखरी वा पल्टनमा जागिर छोडेर घर आएको सिपाहीले फुंदा गांस्ने हावादारी राजाको सवारीजस्ता कुरामा ट्वाल्ल परेर हो मा हो मिसाउने ग्रामीण समाजको कुनै पनि ठिटो आज कमसेकम कुनै फटाह नेताले गर्ने बकम्फुसे भाषणको सत्य तथ्य के हो आफ्नै मोबाइलको इन्टर्नेटबाट गूगल सर्च गरेर भए पनि बुझ्नसक्ने भएको छ । हो, परिवर्तन यहींबाट सुरु हुन्छ ।

 

म सम्झन्छु २०-२५ बर्षअघि गाउँकी ठुलिआमा परदेशिएका ठुलबाको चिट्ठी माटो र महेलले मुझा परेको पटुकीको थैलिमा गांठो पारेर पल्लाघरे ठुल्दाइ कुनबेला स्कूलबाट फर्केलान र त्यो चिट्ठी बाचिदेलान भनी दिनभरी दलानको ढिकी रुंघेर बस्नु हुन्थ्यो भने आज तिनै ठुलबाका नातिहरु हरेकका हातमा रहेका स्मार्ट मोबाइलमा फेस्बूक, मेसेन्जर र ट्वीटर लगायतका एपहरु डाउन्लोड गरिएका छन । तर बिडम्बना ती आँखादेख्ने नातिहरु रुमानी कल्पनाको जादुगरिले ल्याएको हुँदा-नहुँदा घटनाले तरङ्गित बनेका छन, द्रबिभुत भएका छन, स्वैरकल्पनामा डुबेका छन र आँफैभित्रको कस्तुरी नचिनी डांको छोडेर रुन्छन ।

 

आजभन्दा लगभग १० बर्षअघि १ अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ लगभग ८५-८६ हुन्थ्यो भने त्यो बेला रु १ लाख पर्ने ग्रामीण जमिन अहिले ४०-५० लाख पर्ने भएको छ तर अमेरिकी डलरको मुल्य ८५-८६ बाट ११०-११५ मै अल्झिएको छ । त्यतिखेर डीभी पर्दा दङग परी २० रोपनी जमिन २० लाख रुपैयामा बिक्री गरी सुट्केस बोकेर अमेरिका भासिएको कुनै पनि नेपालीलाई अहिले त्यही २० रोपनी जमिन किन्नु परेमा १० करोड नेपाली रुपैयाँ झिक्नु पर्छ, जुन पुरै जीवन अमेरिकामै दास बनेरपनि सम्भव छैन । के हामी अझै गरिव छौं  त ?

 

हामीसँग जलभन्डार छ, खुल्ला जमिन छ, बन छ, स्वच्छ हावा छ, उर्वर माटो छ, अप्रदुशित घाम छ, सहयोगी आत्मा छन, मर्दापर्दा कामलाग्ने छरछिमेक छ, मानवीय भावना छ, धर्म छ, मन छ अनी यी सबै कुरा भएर पनि हामी किन निरास छौ ? किनकी हाम्रा राजनीतिक दल र नेताहरु भ्रस्ट भए, तिनका गलत गतिबिधिले हामीमा निराशा बढाए । हो, जुन दिन हामी फोहोरी राजनीति गर्ने भ्रस्ट नेताहरुलाई सामाजिक बहिस्कार गर्छौ, तिनलाई मान्छेको दर्जामा राख्न छोड्छौ र तिनीहरु बिनापनि बाँच्न सकिन्छ भन्ने भावनामा विश्वाश गर्छौ, त्यो दिनदेखी नेपालको भविष्य उज्वल हुनेछ । भ्रष्ट भन्ने जाँदाजान्दै त्यही नेतालाई हामी किन कुनै पनि शिलान्यास, उद्घाटन वा सामाजिक कार्यक्रममा बोलाई-बोलाई महत्व दिन्छौं । समाजका जेष्ठ नागरिक, अगुवा पत्रकार, असल शिक्षक, मान्य लेखक, मेधावी विद्यार्थी, गरिव तर इमान्दार सिकर्मी, मजदुर, असल ग्रिहिणी, परिश्रमी पालेदाइ कती छन कती जसलाई हामी कार्यक्रममा प्रमुख अतिथी बनाएर ती भ्रस्ट नेतालाई दह्रिलो मुक्का दिन सक्छौं सुध्रनको लागि । किन हामी आजैदेखी यसो गर्दैनौं ? कि हामीपनी भ्रस्टाचारको मतियार हुन चाहन्छौं ?

 

हो, हामीमा चिन्तनको गरिवी छ । सिर्जनशिलताको गरिवी छ । सकारात्मकताको गरिवी छ । संकल्पको गरिवी छ । बिगतका २५-३० बर्षको उता र यता तुलना गर्दा राजनीतिक दल, भ्रस्ट कर्मचारी  र नेताका आसेपासेका कारण समग्र देशले उनीहरुकै अनुपातमा प्रगती गर्न नसकेपनि प्रगतिका प्रशस्त सम्भावनाहरु देखिएका छन । हामी सबैले निराशालाई बिर्सेंर सकारात्मक सोच बोक्ने हो भने अबको केही दशकभित्रै नेपाल एक सुन्दर, शान्त र समृद्द मुलुक भनेर विश्वमा चिनिन्छ ।

Photo Credit: Bikas Darai

Similar Articles

The Beautiful Ordinary

The Beautiful Ordinary

“The beautiful ordinary”, this might seem like a common topic but it has a deep-rooted value in my whole life. We often change every day or maybe every minute, we love to grow more and more, we love to get ne..

3 MONTHS AGO
"म" वा "हामी"

"म" वा "हामी"

..

9 MONTHS AGO
उज्यालो भविष्यका लागि सामाजिक विभेदको अन्त्य

उज्यालो भविष्यका लागि सामाजिक विभेदको अन्त्य

नयां सोच र प्रगतीशिल चिन्तन, कर्ता भन्दा कर्मको सम्मान गर्ने परिपाटीमा मात्र सम्भव..

9 MONTHS AGO